जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार ०९:४९

माओवादीसँग नयाँ समीकरण बनाउन एमाले तयार, बैठकलगत्तै उपाध्यक्ष पाण्डेले गरे आजै सरकार परिवर्तन हुने घोषणा


भक्तपुर, फागुन २१ । नेकपा एमालेले नेकपा माओवादी केन्द्रले वर्तमान गठबन्धन छाडे ऊसँग नयाँ समीकरण निर्माणका लागि छलफल गर्न सकिने निश्कर्षमा पुगेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवासमा भर्खरै सम्पन्न केन्द्रीय सचिवालय बैठकले यस्तो निश्कर्ष निकालेको हो । यअसघि एमाले माओवादीसँग सहकार्य नगर्ने निर्णय लिएको थियो । आजको सचिवालयले पुरानो सो निर्णय उल्ट्याएर समीकरणका लागि तयार भएको हो।

बालकोटस्थित अध्यक्ष केपीशर्मा ओली निवासमा बिहान बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । एमालेले माओवादीसँग नयाँ समीकरण बनाउन वर्तमान सत्ता गठबन्धन तोडिनुपर्ने पूर्व सर्त राखेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष ओलीबीच पटकपटक छलफल भएपछि एमालेले सचिवालय बैठकमा माओवादीसँगको सहकार्य र टिआरसी विधेयकबारे छलफल गरेको हो ।

बैठक लगत्तै एमाले उपाध्यक्ष सुरेन्दै पाण्डेले सत्ता समीकरण फेरिने जनाउ दिनुभएको छ । बैठकलगत्तै उपाध्यक्ष पाण्डेले लेख्नुभएको छ, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद बन्दै । साना मन्त्रिमण्डलले आज शपथ लिँदैछ ।’