जनता टाइम्स

१२ चैत्र २०८०, सोमबार १५:२१

मुस्कानसहित उपसभामुख इन्दिराले गरिन तीनपाने रक्सीको बखान, समृद्ध नेपाल निर्माणको सारथी बन्न सक्ने ठोकुवा


काठमाडौं, चैत १२ । उपसभामुख इन्दिरा राना मगरले नेपालमा उत्पादन हुने तीनपाने रक्सीको महिमा निकै रहेको तथ्य सुनाउनु भएको छ । पाटन म्युजियममा आज ‘उपत्यकाको उत्तरबाट आएको हावा’ नामक फोटो प्रदर्शनीमा बोल्दै उपसभामुख रानाले यस्तो बताउनु भएको हो ।

कार्यक्रममा सम्बोधनको क्रममा मुस्कानसहित तीनपाने रक्सीको बखान गर्दै उपसभामुख राना मगरले नेपालमा बन्दै आएको तीनपाने रक्सीको बखान गर्दै समृद्ध नेपाल निर्माणको सारथी बन्न सक्ने ठोकुवा पनि गर्नुभयो । नेपालको अर्थतन्त्र विकासको लागि स्थानीय रक्सीलाई प्रवर्धन गर्नुपर्ने धारणा पनि उहाँले राख्नुभयो । उहाँले नेपालमा अर्ग्यानिक रक्सी उत्पादन हुने गरेको जानकारी पनि दिनुभयो ।

‘हामीसँग कति अर्ग्यानिक जस्तो छ्याङको कुरा छ, तर हामी विभिन्न किसिमको रक्सीहरू भित्र्याइरहेका छौं, आर्थिक वृद्धिको लागि हाम्रो पनि तीनापाने रक्सीहरू हुनसक्छ । नेपाली अर्थतन्त्रको विकासमा तीनपाने रक्सीले सहयोग गर्नसक्छ,’ उपसभामुख राना मगरले भन्नुभयो ।

उहाँले चिनियाँ गान्सु फोटोग्राफरहरूले नेपाल र चीनका विभिन्न स्थानमा खिचेको फोटो प्रदर्शनीमा बोल्दै फोटो आफैँ बोल्ने बताउनुभयो । रानाले फोटोबाट क्रान्तिको सुरुवात हुनसक्ने बताउनुभयो । यस्तो प्रकारको प्रदर्शनीले एक अर्कामा सहकार्य गर्न र सम्बन्ध सुधार गर्न सहयोग पुग्ने उहाँको धारणा छ । यसले दुई देशलाई जोड्ने रानाले बताउनुभयो ।