जनता टाइम्स

१३ चैत्र २०८०, मंगलवार ०८:३९

लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष खडकासहित ६ जना भ्रष्टाचारी ठहर, बिशेष अदालतले तोक्यो कैद र जरिवानाको सजाय


विशेष अदालतले आरोपी २६ जनामध्ये अध्यक्ष खडका र प्रमुख प्रशासकीय अधिकृत न्यौपानेसहित ६ जनालाई दोषी ठहर गरी २० जनालाई भने सफाई दिएको छ ।

काठमाडौं, चैत १३ । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका पूर्वअध्यक्ष गोबिन्द खडकासहित ६ जनालाई बिशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । सो पालिकाको केही वडामा विजुली ल्याउन भएको विद्युत सामान खरिद अनियमिततामा तत्कालिन गाउँपालिका अध्यक्षसहित ६ जना दोषी ठहर भएका हुन ।

विशेष अदालतले आरोपी २६ जनामध्य अध्यक्ष खडकासहित ६ जनालाई दोषी ठहर गरी २० जनालाई भने सफाई दिएको छ । अदालतले गाउँपालिका अध्यक्ष खड्कालाई ६ महिना कैद र १ करोड ९९ लाख ३२ हजार ५ सय ९ रुपैयाँ ८८ पैसा जरिवाना हुने फैसला सुनाएको छ ।

यस्तै राजुप्रसाद न्यौपाने र टंकप्रसाद चौलागाईलाई ३ महिना कैद र ६३ लाख १० हजार ८ सय ३६ रुपैयाँ ६२ पैसा जरिवानाको सजाय सुनाइएको छ । यसैगरी दुर्गाबहादुर डिम्दोङ तामाङ र नोर्बु लामाको हकमा ३ महिना कैद र ३१ लाख ५५ हजार ४ सय १८ रुपैयाँ ३१ पैसा जरिवाना भएको छ ।

न्यौपाने तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र डिम्दोङ लेखापालको जिम्मेवारीमा हुनुहुन्थ्यो । यस्तै सामान ल्याउने ठेकेदार कम्पनीका सन्चालक अमृतबहादुर तामाङलाई पनि ३ महिन कैद र ४२ लाख ३५ हजार ६ सय ८६ रुपैयाँ ४७ पैसा जरिवाना भएको छ।

आर्थिक वर्ष २०७४/७५ र ०७५/७६ मा लिखु तामाकोशीका वडा–४ विजुलीकोट, वडा–५ नागदह र वडा–१ दुरागाउँमा विजुली ल्याउन प्रकृया नपु¥याई सामान खरिद गरेर भ्रष्टाचार गरेको आरोपमा तत्कालिन गाउँपालिका अध्यक्ष खड्कासहित २६ जनामाथि लागेको थियो।