जनता टाइम्स

२१ चैत्र २०८०, बुधबार १९:४९

कांग्रेसले आज पनि टुंगाउन सकेन उपनिर्वाचनका उम्मेदवार


काठमाडौं, २१ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन आज पनि सकेन । बैशाख १५ मा हुने इलाम–२ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनको उम्मेदवारको टुंगो लगाउन बुधबार बसेको बैठक पनि कुनै निर्णय नगरी सकिएको छ ।

आजको संसदीय बोर्डको बैठकमा सभापति शेरबहादुर देउवाले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाउन प्रस्ताव राखे पनि महामन्त्री गगन थापासहितका नेताहरुले विरोध गरेपछि निर्णय हुन नसको हो । महामन्त्री थापासहित नेता डा. शेखर कोइरालाले भेषराज आचार्यलाई उम्मेदवार बनाउनुपर्ने बताउँदै आउनुभएको हो ।

अब संसदीय बोर्डको अर्को बैठक बिहीबार बिहान ९ बजे बस्ने भएको छ । २०७९ को मंसिर ४ मा भएको आम निर्वाचनमा सभापति देउवाले प्रस्तावित गरेका डम्बर खड्का एमालेका सुवासचन्द्र नेम्वाङसँग ११४ मत अन्तरले पराजित भएका थिए ।