जनता टाइम्स

२० बैशाख २०८१, बिहीबार २२:५१

सुकुम्वासीलाई व्यवस्थापन गर्नुपर्छ, जहाँसुकै जाऊ भन्न मिल्दैन : केपी ओली


काठमाडौं, वैशाख २० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र जनताले भोगिरहेका समस्या प्रति जिम्मेवार हुन सबैलाई आग्रह गर्नुभएको छ ।

भूमि अधिकार तथा श्रमिक संगठन नेपालले काठमाडौंमा आज आयोजना गरेको महिला सशक्तीकरण, सांस्कृतिक तथा व्यापार महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारमा बसेर जथाभाबी गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो । ‘जे पनि गर्न मिल्दै लोकतन्त्रमा, व्यवस्थापन गर्नुपर्छ, व्यवस्थित गर्नुपर्छ’, उहाँले भन्नुभयो ।

कार्यक्रममा बोल्दै ओलीले सुकुम्वासीहरूको व्यवस्थापनका लागि तीनै तहका सरकार जिम्मेवार र उत्तरदायी हुनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले भत्काउने नभई बनाउने अभियान चलाउन सरोकारवाललाई आग्रह गर्नुभयो । ‘सुकुम्वासी बस्तीमा हामीले डोजर देखाएर आतङ्क फैलाइरहेका छौँ, डोजर चलाउन बन्द गरेर उनीहरूको समस्या समाधान गर्न र व्यवस्थापन गर्नतिर लाग्न आवश्यक छ, सुकुम्वासी कहिल्यै पनि विकासका बाधक हुन सक्दैनन्, उनीहरूको व्यवस्थापनमा लाग्न आवश्यक छ’, उहाँले भन्नुभयो ।

अध्यक्ष ओलीले सुकुम्वासीको छाप्रो भत्काउन डोजर लिएर गएको प्रति आपत्ति जनाउनुभयो । गरिबको छाप्रो भत्काउन डोजर लिएर गएर आतङ्कित बनाउने काम गरिएको भन्दै उहाँले आलोचना गर्नुभयो । ‘छाप्रो भत्काउन डोजर लिएर जाने ? कर्कलो फाँड्न बन्चरो लिएर जाने ?’, उहाँले भन्नुभयो ।

काठमाडौं उपत्यकाका सुकुम्वासीको व्यवस्थापनका लागि सुविधा सम्पन्न अपार्टमेन्ट बनाएर उनीहरूलाई बसोबासको व्यवस्था मिलाउनु पर्ने उहाँको सुझाव छ । ‘भत्काउने अभियान होइन बनाउने अभियान चलाऊँ न’, ओलीले भन्नुभयो ।
उहाँले सुकुम्वासीलाई नहेप्न काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहलाई चेतावनी दिनुभयो । काहीँ कसैलाई हेप्न नसकेर सुकुम्वासी बस्तीका घर भत्काएर सुकुम्वासीका छोरा छोरीलाई नहेप्न उहाँले आग्रह गर्नुभयो ।

अहिले विभिन्न बहानामा कर्मचारीतन्त्रले काम गर्न नदिएको भन्दै ओलीले त्यसमा सुधार हुनुपर्नेमा जोड दिनुभयो । ‘अहिले हामी सरकारमा आएका छौँ, तर विभिन्न बहानामा कर्मचारीतन्त्र बाधक बनिरहेको छ’, ओलीले भन्नुभयो ।

जनताका समस्याप्रति सबैलाई जिम्मेवार बन्न उहाँले आग्रह गर्नुभयो । आफू प्रधानमन्त्री हुँदा भोकमरीले कोही पनि मर्न नदिने प्रतिविद्धताका साथ काम गरेको उहाँले स्मरण गर्नुभयो ।

सरकारले सबभन्दा बढी जोड गरिबी निवारणमा दिनुपर्ने उहाँले बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा त्यसमा जोड दिएर काम गरेको उहाँले स्मरण गराउनुभयो ।

हरेक नागरिकलाई सुरक्षित आवासको व्यवस्था राज्यले गर्नुपर्ने उहाँले बताउनुभयो । साना वा ठुला भन्ने होइन, ठाउँ र हावापानी अनुसार सुविधायुक्त तरिकाले बाच्नको लागि आवश्यक पर्ने आवासको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘सुकुम्वासीलाई व्यवस्थापन गर्नुपर्दछ, जहाँसुकै जाऊ भन्न मिल्दैन’, उहाँले भन्नुभयो । खानको लागि यथोचित आहार पाउने, यथोचित आवास पाउने, सुलभ ढङ्गले गुणस्तरीय शिक्षा, बिरामी हुँदा औषधि उपचार पाउनु नागरिकको आधारभूत अधिकार भएको उहाँले बताउनुभयो ।

आजको २१ औँ शताब्दीमा यी आधारभूत आवश्यकता पुरा गर्ने गरी रोजगारीको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सडकमा मानिस अलपत्र छाडेर सरकार चलाएर बस्ने अधिकार कसैलाई नभएको उहाँले प्रष्ट पार्नुभयो ।