जनता टाइम्स

२३ बैशाख २०८१, आईतवार १४:४१

माधव नेपाललाई जसपा नेताको मुखभरीको जवाफ, भने – ‘हामी उहाँका पुच्छर होइनौ’


काठमाडौं, २३ वैशाख । जसपालाई देखाएर आफै सहभागि सत्ता गठबन्धनलाई धम्क्याई रहनुभएका नेकपा ‘एकीकृत समाजवादी’ का अध्यक्ष माधव नेपाललाई जनता समाजवादी पार्टीका नेताहरूले मुखभरीको जवाफ दिएका छन् । जसपाका नेताहरूले आफूहरूलाई देखाएर नधम्क्याउन नेता नेपाललाई चेतावनी पनि दिनुभएको छ ।

माधव नेपाल वर्तमान सत्ता गठबन्धनमा रहेर यसैको जरो काट्ने ‘मुसो’ प्रवृतिमा लागिरहेको बेला जसपा नेताको यस्तो अभिव्यक्ति आएको हो । नेता नेपाल आफूलाई प्रधानमन्त्री बनाउन कांग्रेसले कमिटमेन्ट गरे वर्तमान गठबन्धनमा नबस्ने बताउँदै आउनुभएको छ । एकीकृत समाजवादीले गठबन्धन छाडे जसपाले पनि छाड्ने बताउँदै माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूलाई प्रधानमन्त्री बनाउन याचना गर्दै आउनु भएको छ ।

यसै सन्दर्भमा जसपा नेता मनिष सुमनले आफूहरू एकीकृत समाजवादीको पुच्छर नभएको बताउँदै जसपा अहिलेकै गठबन्धनप्रति प्रतिवद्ध भएको जानकारी दिनुभयो । ‘हाम्रो पार्टी उहाँको पार्टीभन्दा ठूलो पार्टी र राष्ट्रिय पार्टी हो’ नेता सुमनले भन्नुभयो ‘राष्ट्रिय पार्टी पनि नभएकाले प्रधानमन्त्रीमा दावी गर्न सुहाउँछ ?’ आफ्नो पार्टी माधव नेपालले जहाँ भन्यो त्यहाँ गईहाल्ने नभएको बताउनुभयो । वैकल्पिक गठबन्धन बने पनि जसपा सो गठबन्धनमा नलाग्ने उहाँको दावी थियो ।