काठमाडौं, जेठ ४ । ज्यानसम्बन्धी कसूर र विद्युतीय कारोबार कसूरमा इन्टरपोलबाट रेड नोटिस जारी भएका २ जना फरार आरोपीलाई यूएईमा पक्राउ गरिएको नेपाल ल्याइएको छ ।
पक्राउ पर्नेहरूमा मोरङ लेटाङ नगरपालिका–३ का ४१ वर्षीय बलबहादुर लिम्बू र नवलपरासी पूर्व मध्यबिन्दु नगरपालिका–१३ का २३ वर्षीय सन्तोष न्यौपाने छन । एनसीबी अबुधावी यूएईको समन्वयमा यूएईमा पक्राउ परेका उनीहरूलाई बिहीबार नेपाल ल्याइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये ज्यानसम्बन्धी कसूर मुद्दामा बलबहादुर उपर जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका खुल्न आएपछि लिम्बुलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि इलाका प्रहरी कार्यालय लेटाङ मोरङबाट अनुरोध भएको थियो ।
यसैगरी विद्युतीय कारोबार कसूरसम्बन्धी मुद्दामा सन्तोष उपर जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भई वैदेशिक रोजगारको सिलसिलामा यूएईमा रहेका खुल्न आएकाले लेखी पठाइएको बताइएको छ ।
बलबहादुरलाई इप्रका लेटाङ र सन्तोषलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोमा थप अनुसन्धान र कारबाहीका लागि बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्