रामेछाप, जेठ ५ । आसन ग्रहणको बिषयलाई लिएर उदघाटन शत्रमै बिवाद हुँदा नेपाली कांग्रेस रामेछापका नेताहरु नै कुटिएका छन ।
नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा नेताहरु नै कुटिएका छन भने केहीलाई कार्यकर्ताले लखेटेका छन् ।
खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा आज आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै कुटाकुट भएपछि कार्यक्रम नै स्थगित भएको छ । भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किनु परेको छ भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली ल्याएको छ ।
अधिवेशनमा आसनग्रहणको विवाद भएर कुटपिटमा परिणत भएको र सो क्रममा जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन् । मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार हुनुहुन्थ्यो भने हाल कांग्रेस वागमती प्रदेश सदस्य हुनुहुन्छ ।
कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका छन् । लखेट्ने क्रममा ढुंगामुढा भएको थियो भने कुटाइबाट केही नेता रक्तामत्य भएका छन ।
प्रतिक्रिया दिनुहोस्