जनता टाइम्स

५ जेष्ठ २०८१, शनिबार १९:५८

प्रमुख ४ दलबीच जु्ट्यो सहमति, सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउने निर्णय


काठमाडौं, जेठ ५ । प्रमुख दलका शीर्ष नेताहरुको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री र रास्वपाका सभापति रवि लामिछाने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरुको बैठकमा उक्त सहमति जुटेको हो ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शीर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताउनु भयो ।

उहाँले समिति बनाउन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने जानकारी दिनुभयो । ‘मुख्य दलको शीर्ष नेताहरुको बैठकमा समिति बनाएर जानुपर्छ भन्ने सहमति भएको छ, सबै सहमत भएकै अवस्था छ । समितिको कार्यादेश के हुने भन्नेबारेमा पनि काम गर्ने कुरा भएको छ ।

समिति गठन गरेर जाने भन्नेमा सबै राजनीतिक रुपमा समान धाराणा बनेको छ, यो उपलब्धि र सकारात्मक रुपमा बुझ्नुपर्छ,’ लेखकले भन्नुभयो । लेखकका अनुसार छानविनको टिओआर भने कार्यदलले आइतबार बनाउने सहमति भएको छ ।