काठमाडौं, जेठ ७ । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाउनु भएको छ ।
२०७९ साल पुसमा प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाउनु भएको हो ।
प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभामा कांग्रेसको अवरोधबीच विश्वासको मत लिनुभएको हो । आज भएको मतदानमा प्रधानमन्त्री दाहालले पक्षमा १५७ मत पाउनु भएको छ भने प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिनुभयो ।
आजको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुभएको हो । प्रधानमन्त्रीले सरकारमा प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।
जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिनुभएको थियो ।
तेस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा १५७ सांसद हुनुहुन्थ्यो । २०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो ।
एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिनुभएको थियो । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेससमेतले दाहाललाई विश्वासको मत दिएको थियो ।
दाहालले राखेको पहिलो विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ ले पक्षमा मत दिएका थिए । त्यतिबेला उहाँको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै मत राख्नुभएको थियो ।
राष्ट्रपति निर्वाचनसँगै दाहालले २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गर्नुभयो । परिणामस्वरूप कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलको शीतल निवास यात्रा सुरु भयो । एमालेसँगको गठबन्धन तोडिएपछि दाहालले दोस्रो पटक २०७९ चैत ६ मा प्रतिनिधिसभामा विश्वासको मत लिनुभयो ।
दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायत उभिनुभएको थियो ।
दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालको पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेका थिए । दाहालको विपक्षमा ८९ सांसदले राखे भने नेमकिपा ‘मत दिन्न’ भन्ने पक्षमा उभिएको थियो ।
प्रतिक्रिया दिनुहोस्