जनता टाइम्स

८ जेष्ठ २०८१, मंगलवार १८:४३

कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया कार्यकक्षबाटै पक्राउ


काठमाडौं, जेठ ८ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेशनको मुख्यालयबाटै नियन्त्रणमा लिइएको हो । नागरिकताको विषयलाई लिएर जिल्ला अदालत धनुषाले पक्राउ पूर्जी जारी गरेपछि प्रहरीले सिरोहियालाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई नेतृत्वको टोली थापाथलीस्थित कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई नियन्त्रणमा लिएको हो । प्रहरीले सिरोहियाको कार्यकक्षबाटै नियन्त्रणमा लिएको हो । पक्रेर लैजाँदै गर्दा उहाँका समर्थकहरूले गृहमन्त्री र प्रहरीको कार्यशैलीको विरोध गर्दै नाराबाजी गरेका थिए ।

कान्तिपुर मुख्यालयमा पुगेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु प्रेस स्वतन्त्रताविपरीत भएको सरोकारवाला पक्षहरूले बताएका छन । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले सञ्चार गृहमा प्रहरी प्रवेश गरेर अध्यक्ष सिरोहियालाई पक्राउ गर्नु गलत भएको बताउनु भयो । त्यस्तै नेपाल पत्रकार महासंघका उपाध्यक्ष रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले राज्यले लोकतन्त्रको उपहास भएको बताउनु भयो ।

यसअघि सिरोहियालाई पक्राउ पूर्जी जारी भएको थाहा भएपछि नेपाली कांग्रेसका सांसदहरू कान्तिपुर मुख्यालय पुगेका थिए । कांग्रेस सांसदहरू रामहरि खतिवडा, पूर्वपराष्ट्रमन्त्री एनपी साउद, राजेश थापा, दीपक गिरी, कुसुम थापा, रामकृष्ण यादव, उद्योगी उपेन्द्र महतोलगायत कान्तिपुर मुख्यालय पुग्नुभएको थियो ।

कान्तिपुर मुख्यालय पुगेका कांग्रेस नेताहरूले सिरोहियाविरुद्ध जारी पक्राउ पुर्जी प्रेस र लोकतन्त्रमाथिकै आक्रमण भएको बताउनु भयो । उहाँहरूले अध्यक्ष सिरोहियालाई भेटेर कांग्रेस सधैं प्रेस स्वतन्त्रता र प्रजातन्त्रको पक्षमा रहने प्रतिबद्धता जनाउनु भएको छ ।

त्यस्तै नेपाल मिडिया सोसाइटीले कान्तिपुरले प्रमुखताका साथ समाचार बनाएको झोंकमा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साधेको भन्दै भत्र्सना गरेको छ। सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले विज्ञप्ति जारी गर्दै भन्नुभएको छ, ’व्यक्तिगत रिसइबी र इगो साध्ने हतियारका रूपमा आफ्नो मातहतको निकायलाई दुरुपयोग गरी कथित नागरिकताको कमीकमजोरीको प्रचारबाजी र जाहेरी दर्ता गर्न लगाएर पक्राउ पुर्जी जारी गरेको घटनाको हामी घोर निन्दा र भत्र्सना गर्दछौं ।’