काठमाडौं, ९ जेठ । कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोड्नुभएको छ ।
कामिरिताले आज बिहान ७ः४९ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । उहाँले यसै सिजनमा गत बैशाख ३० गते २९औ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । उहाँ सगरमाथामा सबैभन्दा बढी पटक आरोहण गर्ने आरोही हो ।
यसअघि पनि यो किर्तिमान उहाँकै नाममा रहेको थियो । सोलुखुम्बुको खुम्बु पासाङ्ल्हामु गाउँपालिका थामेमा जन्मिनुभएको ५४ वर्षीय कामरिताले सफल आरोहण गरेर आफ्नै कीर्तिमानी तोडिदिनुभएको हो ।
सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा कामिरिता सर्वाधिक आरोहण गर्ने कीर्तिमानी आरोही हो । सगरमाथासहितका हिमाल नेपालको गौरव पनि हो । पर्वतारोहण र पदयात्राका लागि उल्लेख्य सङ्ख्यामा विदेशी नागरिक नेपाल आउँछन् । कीर्तिमानी आरोही कामिरिताको बुझाइमा हिमालले देशलाई धेरै चीज दिएको छ । हिमाललाई दुहुना गाईका रुपमा मात्र प्रयोग नगरी संरक्षण र सरसफाइ गर्नुपर्ने उहाँको बुझाइ छ ।
कामिरिताले विसं २०७९ को वसन्त ऋतुमा दुईपटक सगरमाथा आरोहण गर्नुभएको थियो । सन् २०२३ को मे १७ मा कामिरिताले २७औँ पटक सगरमाथा आरोहण गर्नुभएको थियो । त्यसको केही दिनलगत्तै उहाँ दोस्रोपटक सगरमाथाको चुचुरोमा पुग्न सफल हुनुभयो ।
उहाँले सन् २०२२ को वसन्त आरोहणमा डोरी टाँग्ने क्रममा २६औँ पटक सगरमाथाको आरोहण गर्नुभएको थियो । उहाँले सबैभन्दा धेरै पटक सगरमाथा आरोहणसँगै आठपटक चोयु, तीनपटक मनास्लु, एकपटक ल्होत्से, एकपटक केटु आरोहण गरी ४० पटक विश्वका अग्ला हिमालको आरोहण गरिसक्नुभएको छ ।
सन् १९९४ मे १३ मा पहिलोपटक सगरमाथाको चुचुरो टेक्नुभएको कामिरिताका नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी पटक आरोहण गरेको कीर्तिमानी छ । अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेपछि कामिरिताको कीर्तिमानी खोसिने हो कि भन्ने चुनौती थपिएको थियो ।
पासाङ दावाले आरोहणलाई निरन्तरता दिएमा कीर्तिमान तोडिने भएकाले जोगाउने चुनौती थपिएको हो । सगरमाथाको दोस्रो शिविरभन्दा माथिको बाटो बनाउने जिम्मा सेभेन समिट ट्रेक्स प्रालिले पाएको छ । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्