जनता टाइम्स

६ असार २०८१, बिहीबार ०३:३२

कोशी र बागमतीसहित ४ प्रदेशमा आज पानी पर्ने, यी हुन आगामी २४ घण्टा धेरै पानी पर्ने स्थान


काठमाडौं, असार ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशसहित आज चार वटा प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ ।

महाशाखाका अनुसार आजको मौसम कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । यसका साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

महाशाखाले मौसमका कारण हुनसक्ने क्षतीबाट जोगाउन आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्शसमेत दिएको छ । जसअनुसार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशको थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले यस कारण ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

२०८१ असार ०७ गते (शुक्रबार)
दिउँसोː कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र बाग्मती प्रदेशका केही, मधेश, गण्डकी र लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

रातीː कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बदली, लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको थोरै तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।