काठमाडौं, असार ६ । नेपाल प्रहरीले झण्डै १६ करोड मूल्य बरावरको अबैध लागूऔषध कोकिनसहित चार जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध व्युरोले सो मूल्य बरावरको ४ किलो ५०४ ग्राम कोकिनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका अभियुक्तहरुलाई आज पत्रकार सम्मेलन गी सार्वजनिक गरिएको छ । ब्यूरोका अनुसार उनीहरुले फल्स बटममा लुकाई कोकिन ओसारपसार गर्ने काम गर्दै आएका थिए । प्रहरीका अनुसार जेठ २७ गते फ्लाई दुवईको उडानबाट नेपाल आएका तान्जानियन नागरिक डोनाल्ड ज्याक्सन माबुगालाई ठमेलस्थित एक होटलबाट १८ क्याप्सुल कोकिनसहित पक्राउ गरिएको हो ।
उनले आफ्नो पेटभित्र थप क्याप्सुल रहेको बताएपछि अस्पताल लगि थप ७७ वटा कोनिका क्याप्सुलहरु बरामद गरिएको व्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
यसैगरी जेठ ३० गते इमिरेट्सको उडानबाट ब्राजिल हुँदै काठमाडौं आएकी बोलिभियन नागरिक लाउरा क्रुज टिकोनालाई बिमानस्थल परिसरबाटै १२१ वटा फेन्सी लुगाको बटनमा लुकाएर ल्याएको २ किलो १ सय ग्राम कोकिनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै असार १ गते कतार एयरको उडानमार्फत नेपाल आएकी भेनेजुलियन नागरिक साइमन एन्टोनियो अल्फोन्जो राडालाई काठमाडौंको एक होटलबाट कोकिनका ९२ क्याप्सुल सहित पक्राउ गरिएको व्युरोले जनाएको छ । प्रहरीले अनुसन्धानका क्रममा उक्त कोकिनका क्याप्सुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरिक लालरु अत्सङ्गीलाई पक्राउ गरेको छ ।
उनले कोकिनका क्याप्सुलहरु नेपालबाट भारतको नयाँ दिल्लीसम्म लैजाने गरेको अनुसन्धानबाट खुलेको छ । बरामद गरिएका लागू औषध कोकिनको अवैध बजार मूल्य अन्दाजी १५ करोड ७६ लाख हुन आउने ब्यूरोले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्