जनता टाइम्स

९ असार २०८१, आईतवार १४:५६

सांसद कार्कीको माग : हाम्रा नर्सहरुको मुस्कानभित्र लुकेको दुःख र पीडामा तत्काल मल्हम लगाइयोस


काठमाडौं, असार ९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् डा. चन्दा कार्की भण्डारीले नेपाली स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको मुस्कानभित्र लुकेको दुःख र पीडालाई सम्बोधन गर्न माग गर्नुभएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् कार्कीले नर्सिङ क्षेत्रका चुनौती तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । उहाले हरेक अप्ठ्यारोमा मुस्कानसाथ जनसेवा गर्ने नेपालका नर्सहरुको मुस्कानभित्र दुःख र पीडा लुकिरहेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो ।

नर्सहरुका दरबन्दी, पारिश्रमिक र सुविधा न्यूान रहेको भन्दै उहाँले योग्यता अनुसार दरबन्दी र जिम्मेवारी नपाएको बताउनुभयो । हाल नेपालमा १५ सय ७ विशेष नर्ससहित १ लाख साढे २३ हजार नर्स रहेका छन ।

‘नर्सिङ सेवा स्वास्थ्य सेवाको मेरुदण्ड हो, जसको सुधारबिना हाम्रो स्वास्थ्य प्रणाली सुदृढ र गुणस्तरीय बन्नै सक्दैन, मुस्कानकासाथ जनसेवा गर्ने यी नर्सहरुको मुस्कानभित्र दुःख र पीडा झल्किएको देखिन्छ उनीहरुका दरबन्दी, पारिश्रमिक र सुविधा न्यून छन, कार्यस्थल असुरक्षित छ, योग्यता अनुसार दरबन्दी र जिम्मेवारी पाएको छैन, उच्च शिक्षा र तालिमको अवसर छैन, ४० प्रतिशत बढी नर्स बेरोजगार छन, साढे ४० हजार नर्स विदेशिएका छन,’ सांसद कार्कीले भन्नुभयो ।

उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्सहरुको सेवा सुविधामा सुधार गर्ने सार्वजनिक बाचा गरेपनि बजेटमा यसका लागि कुनैपनि योजना नराख्नुभएको भन्दै असन्तुष्टि जनाउनुभयो । ’नर्सिङ सेवाको चुनौती केवल नर्सहरुको मात्र होइन, देश, समाज र स्वास्थ्य प्रणालीको पनि हो, गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई प्रदान गर्न नर्सिङ पेसाको महत्व बुझेर नर्सिङ क्षेत्रका यी चुनौतीको यथाशीघ्र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँछु,’ उहाँले भन्नुभयो, ।