जनता टाइम्स

११ असार २०८१, मंगलवार १४:३३

नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक, यी विषयमा छलफल


काठमाडौं, ११ असार । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक आज सुरु भएको छ । काठमाडौंमा आज सुरु भएको १६औँ बैठकमा नेपाल र चीन बीच द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकको नेतृत्व नेपालका तर्फबाट सचिव लम्साल र चिनियाँ पक्षबाट चीनका उपविदेशमन्त्री सुन वेइडोङले गरेका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालले छलफलका लागि चीनको सहयोग, व्यापार, लगानी र पर्यटन प्रबर्द्धन, कनेक्टिभिटी विस्तार तथा कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायत एजेन्डा तय गरेको छ ।

सोमबार काठमाडौं आएलगत्तै उपविदेशमन्त्री सुनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गर्नुभएको थियो । प्रधानमन्त्री सचिवालयका अनुसार मन्त्री सुनले बीआरआई परियोजना कार्यान्वयनका लागि दाहालसँग छलफल गर्नुभएको थियो । मन्त्री सुनले लामो समयदेखि बीआरआई परियोजनामाथि नेपालले ठोस कदम नचालेको गुनासो गर्दै उक्त परियोजना कार्यान्वयनका लागि ठोस कदम चाल्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नुभएको थियो ।