काठमाडौं, १४ असार । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङ्गले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई पैसाले बैंसले मात्तिएजस्तो देखिएको बताउनुभएको छ । आज प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद तामाङ्गले बालेनलाई कामको लोड कम भएकाले यस्तो भएको बताउनुभएको हो ।
महानगरभित्र तीनै तहका सरकारले काम गर्ने र एकअर्कामा समन्य नगर्ने प्रवृति रहेकाले अब महानगरलाई कामको जिम्मेवारी थपिदिनु पर्ने बताउनुभयो । ‘महानगरपालिकाले कहिले ल्याएर सडक विभागमा फोहोर फालिदिन्छ । कहिले सिंहदरबारभित्र फोहोर फालिदिन्छु भन्ने, कहिले प्रधानमन्त्री कार्यालयमा फोहोर फालिदिन्छु भन्ने । यो राम्रो भएन जस्तो लाग्छ’, सांसद तामाङले भन्नुभयो ।
यहीँनेर उहाँले दोहोरी गीत सम्झिनुभयो । ‘एउटा गीत छ–कोहीकोही मात्तिन्छ पैसाले, कोहीकोही मात्तिन्छ बैंसले दोहोरी गीत गाउँछन् । यो महानगर पालिकामा पैसा पनि बेसी भयो, बैंस पनि भयो । दुइटैले मात्तिएजस्तो छ’, तामाङले भन्नुभयो ।
‘यस (महानगर)लाई एउटा काम (महानगरभित्रको विकास, खानेपानी आदिको सबै काम गर्ने जिम्मेवारी) जिम्मा लगाइदिन पायो भने बैंसले पनि मात्तिदैँन, पैसाले पनि मात्तिदैँन’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्