जनता टाइम्स

२५ असार २०८१, मंगलवार १३:३१

देशको पूर्वी क्षेत्रका साना खोलामा बाढीको जोखिम, सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको निर्देशन


काठमाडौं, असार २५ । बर्षा सुरु भएसँगै यतिबेला देशको पूर्वी भागमा रहेका साना खोलाहरुमा बाढीको जोखिम बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार सुनसरीका सर्दुखोला र बूढीखोलामा पानीको सतह बढेर जोखिमको स्तर पार गरेको छ । सर्दुखोलामा पानीको सतह १०४.५ मिटर पुगेको छ । यसलाई जोखिमको तह मानिन्छ । यस्तै बूढीखोलामा पनि पानीको सतह ८५ मिटर पुगेको छ । यो पनि जोखिमको तह हो ।

उक्त खोलामा अहिले पानीको सतह ८५ दशमलव ५१ मिटर पुगेको विभागले जनाएको छ । मौसम पूर्वानुमान माहाशाखाका अनुसार सुनसरीमा १२ घण्टामा एक सय ७१ दशमलव चार मिलिमिटर पानी परेको छ । २४ घण्टाको अवधिमा धरानमा एक सय ५९, उदयपुरमा एक सय ४४, उदयपुकै मुर्कुची बजारमा एक सय २५ दशमलव चार, धनकुटामा एक सय ४२ दशमलव र मोरङ केराबारी क्षेत्रमा एक सय ५३ दशमलव आठ मिलिमिटर पानी परिरहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

विभागका प्रवक्ता सुनिल पोखरेलले आज मुलुकको पूर्वी जिल्ला सिन्धुली, झापा, उदयपुर, सुन्सरीका साना नदीमा बाढीको जोखिम रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गर्नुभयो । ‘मंगलवार पूर्वका साना नदीहरुमा बाढीको जोखिम भएकाले त्यस क्षेत्रमा मानिहरुलाई हामीले बाढीबाट बच्न एसएमएस पठाइसकेका छौं,’ पोखरेलले भन्नुभयो, ‘बिहीबारदेखि नारायणी नदीभन्दा पूर्वतिरका नदीमा बाढीको जोखिम बढ्नसक्छ ।’ बाढीको जोखिम बढ्ने भए पनि आत्ति हाल्नुपर्ने खतरा भने नरहेको उहाँले बताउनु भयो ।