काठमाडौं, असार ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुनुहुने भएको छ । संबिधानको धारा ७६ को २ अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आज ओलीलाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न लाग्नुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएसँगै राष्ट्रपति पौडेलले नयाँ सरकार गठनका लागि शुक्रबार नै दलहरूलाई आह्वान गर्नुभएको थियो । शुक्रवार नै ओलीले नेपाली कांग्रेसको समर्थनमा १६६ सांसदसहित प्रधानमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।
दाबी पेस गर्ने समय आज साँझ ५ बजेसम्म छ । त्यसपछि राष्ट्रपतिले ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नुहुनेछ । उहाँको शपथ भने सोमबारका लागि तय भएको छ । नयाँ सरकारको लागि दाबी पेश गर्न गरिएको शीतल निवासको आव्हान आइतबार साँझ ५ बजेसम्मै भएकाले शपथ ग्रहण सोमवारका लागि तय भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमनत्रीको नियुक्ति आज र शपथ सोमवार बिहान ११ बजे हुनेछ ।
सत्ता साझेदार दुई दल कांग्रेस र एमालेले मन्त्रालय बाँडफाँटको मोडालिटीसमेत टुंग्याएका छन् । कुन दलले कुन मन्त्रालय पाउने भन्ने पनि लगभग टुंगिसकेको बताइएको छ । ओलीले प्रधानमन्त्रीको शपथ लिएसँगै केही मन्त्रीहरूको पनि शपथग्रहण गर्नेगरीको तयारी छ ।
केही साना दलका लागि समेत मन्त्रालय राखेर कांग्रेस र एमालेले समान हैसियतमा बाँडफाँट गर्ने सहमति बनेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओली बसेर मन्त्रालय बाँडफाँट तथा आ आफ्ना पार्टीका मन्त्रीको नाम समेत तय गरिसकेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्