जनता टाइम्स

१ श्रावण २०८१, मंगलवार ०७:४६

बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु, एक जना घाइते


रुकुम, साउन १ । रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ।

आठबीसकोट वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको आठविसकोटका मेयर रवि केसीले जानकारी दिनुभयो।

मृत्यु हुनेमा ८ वर्षीया हितमाया पुन, ५ वर्षीया धनिषा पुन, ४ वर्षीया मनिषा सार्की रहेका छन । यस्तै बाढीमा परी ४० वर्षीय डिल्ली बुढाथोकी बेपत्ता भएको मेयर केसीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा परी ७ जना घाइते भएका छन्।

बाढीले कटान गर्दा कति घर भत्किए भन्ने यकिन विवरण आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गइरहेको छ। वर्षाका कारण सडक अवरुद्ध भएकाले घटनास्थल पुग्न ढिलाइ भएको प्रहरीले जनाएको छ ।