जनता टाइम्स

५ श्रावण २०८१, शनिबार १२:०८

त्रिशूलीमा बेपत्ता बस र शवको खोजीमा खटियो नेपाल आइपुगेको भारतीय उद्धार टोली


काठमाडौं, साउन ५ । सिमलताल पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका बस र यात्रुको खोजीका लागि भारतीय उद्धार टोली खटिएको छ ।

नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म फेला नपरेपछि आजबाट भारतीय उद्धार टोलीसमेत परिचालन गरिएको हो । त्रिसुलीमा हराएका बशका यात्रुको शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन् ।

बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो । भारतबाट खटिएको उद्धार टोली शुक्रबार राति नै हिंडेको छ । १२ सदस्यीय टोली आज घटनास्थल पुगेर खोजी सुरु गरेको गृह मन्त्रलायको विपद् महाशाखा प्रमुख भीष्मकुमार भूसालले जानकारी दिनुभयो ।

सिमलतालमा असार २८ गते पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २३ जना यात्रुको शव भेटिएको छ । दुवै बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्कन सफल भएका थिए भने बाँकी बेपत्ता भएका छन ।

नदीमा डुबेका ६२ यात्रुमध्ये शुक्रबार अपराह्नसम्म २३ जनाको शव भेटिएको छ । ३९ जनाको अवस्था अझै पत्ता लाग्न सकेको छैन । घटनास्थलबाट झण्डै १०३ किलोमिटर तल गण्डक ब्यारेज वरपर अधिकांश शव भेटिएका छन् । चितवनतर्फ ५, पश्चिम नवलपरासीमा १ र बाँकी १७ वटा शव पूर्वी नवलपरासीमा भेटिएका हुन् ।

नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेको दुई बस र यात्रुको खोजीका लागि भारतको खोज तथा उद्धार टोली शुक्रवार नेपाल आइपुगेको हो ।

भारत सरकारको नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोली सिमलताल घटनाको खोज तथा उद्धारका लागि नेपाल आएको हो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका हुन । उनीहरूले तीन वटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका बताइएको छ । उनीहरू सशस्त्र प्रहरीको एक टोलीका साथ घटनास्थल पुग्दै छन्।

कार्यकारी प्रमुख पोखरेलका अनुसार नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो। गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो ।

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख भुसालका अनुसार गएको असार ३१ गते भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको थियो ।

सोही आधारमा भारतीय खोज तथा उद्धार टोली नेपाल आएको हो । यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।