जनता टाइम्स

८ श्रावण २०८१, मंगलवार २०:५५

प्रचण्ड र रबिको बदमासीमाथि अव न्यायीक परीक्षण, डीआईजी पोखरेलको रिट दर्ता गर्न सर्वोच्चको आदेश


काठमाडौं, साउन ८ । सर्वोच्च अदालतले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएपनि नियुक्ति नपाएर प्रहरी नाउव महानिरीक्षक (डीआईजी) बाटै अवकाशमा जानुभएका पोषराज पोखरेलको रिट दर्ता गर्न आदेश गरेको छ ।

सर्वाेच्चका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले आज यसअघि सर्वोच्च प्रशासनबाट भएको दरपिठ आदेशलाई बदर गर्दै निवेदन दर्ता गर्न आदेश गरेको हो । सर्वोच्चको एकल इजलासको यो आदेशसँगै पोखरेलको माग अव न्यायिक परीक्षण हुने भएको छ।

डिआइजी पोखरेल बुधवार नयाँ रिट पेस गर्दै दर्ता गराउने हुनुभएको छ । सो रिटपछि सर्वोच्चको एकल इजलासमा सुनुवाइ हुने छ। आफ्नो नाम सिफारिस भएको तर नियुक्ति नदिने कार्य गैर कानुनी भएको र आफूमाथि अन्याय भएको भन्दै डिआइजी पोखरेलले रिट दायर गर्नुभएको थियो । उहाँले रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतलाई विपक्षी बनाउनु भएको थियो ।

तर सर्वोच्च प्रशासनले उहाँको अवकाश भइसकेकाले सुनुवाइ गर्न जरुरी नहुने भन्दै दरपिठ (दर्ता गर्न अस्वीकार) गरेको थियो । सर्वाेच्च प्रशासनको सो निर्णयविरुद्ध पोखरेलले इजलासमा निवेदन दिनुभएको थियो । उहाँको निवेदनमाथि सुनुवाई गर्दै इजलाशले रिट दर्ता गर्न आदेश दिएको हो ।

पोखरेलले एआईजी बढुवा सिफारिस भएर पनि नियुक्ति नपाएको भन्दै साउन ६ गते आइतवार सर्वोच्च अदालतमा रिट निवेदन पेस गर्नुभएको थियो । मंगलबारको आदेशपछि अब उहाँको रिट सुनुवाइ प्रक्रियामा जाने छ। सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा पोखरेललाई बढुवाको नियुक्ति दिनुपर्ने छ भने नगरेमा उहाँको अवकाश सदर हुने छ।

गत असार १० गते उनलाई गृह मन्त्रालयले एआईजी बढुवाका लागि सिफारिस गरेको थियो। तर पदावधी कायम रहँदासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रबि लामिछानेले जानजान बढुवाको निर्णय नगरी थन्क्याउनु भएको थियो ।