काठमाडौं, साउन ९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकार सुशासन कायम गर्दै बेदाग सत्ताबाट बाहिरिएको दावी गर्नुभएको छ ।
सरकारमा रहँदा सुन तस्करीमा संलग्न रहेका माओवादीका नेता र ब्यापारीलाई छानीछानी चोख्याउनु भएका दाहालले सुशासनको पक्षमा अहिलेसम्म कसैले गर्न नसकेको काम गरेको जिकिर गर्नुभएको हो ।
बिमानस्थलबाट भएको सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन, उहाँका दुई छोरा, सल्लाहकारदेखि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, बर्षमान पुन, ओनसरी घर्तीमगरसहित माओवादीका उच्च नेताको संलग्नता प्रष्टसँगै खुलेपनि सत्ताको आडमा दाहालले चोख्याउनु भएको छ । जानाजान गरिएको सो कामलाई ढाकछोप गर्न दाहालले सरकारमा रहँदा सुशासनको पक्षमा उत्कृष्ट काम गरेको दावी गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको आज आयोजित स्मृतिसभामा उहाँले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिको पक्षमा माओवादी नेतृत्व सक्रियतापूर्वक लागेका बेला अपारदर्शी ढङ्गले सरकार परिवर्तन भएको बताउनुभयो ।
‘मेरो नेतृत्वको सरकारले सुशासन र सामाजिक न्यायका पक्षमा गम्भीर पहल गर्दै थियो । स्वदेश तथा विदेशमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने, सामान्तवादको अवशेषका रूपमा रहेका मिटरब्याज समस्याको कानुनी समाधान खोजिँदै थियो । सुशासनको पक्षमा पहिलोपटक सरकारका तर्फबाट दूरगामी पहल भएपछि सकारका काम भएनन,’ पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो । सरकारबाट देश र जनताको पक्षमा लिनुपर्ने पहललाई तीव्र बनाएर विजेताका रूपमा माओवादी बाहिर आएको बताउनुभयो ।
‘राजनीतिक रूपमा माओवादीलाई राम्रो आधार बनेको छ, यसलाई सङ्गठनमा बदल्नुपर्छ, अब हामीलाई एउटा नकारात्मक परिघटनाबाट पार्टी पुनःनिर्माण, सङ्गठन सुदृढ गर्ने अवसर प्राप्त भएको छ । पार्टीलाई एकताबद्ध गर्ने, नीति तथा योजनालाई जनमुखी बनाउनेछौँ,’ अध्यक्ष दाहालले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्