सर्लाही, साउन १४ । सर्लाहीमा पूर्वभूमि सुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको कारण खुलेको छ । जग्गा सम्बन्धी विवादका कारण घरमा काम गर्ने सहयोगीले रायको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार कविलासी नगरपालिका–३ स्थित मदनपुरका २५ वर्षीय रामउजैन राय यादवले पूर्वमन्त्री रायको हत्या गरेको खुलेको हो । रामउजैन रायको घरमा काम गर्ने सहयोगी हुन । साउन ७ गते राति चन्द्रनगर गाउँपालिका–१ स्थित फार्म हाउसमा रायको हत्या भएको थियो । टाउकोको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी उहाँको हत्या भएको थियो ।
रतनपुर बस्ने ४५ वर्षीय वीरेन्द्र रायले राम उजैनमार्फत् उनको हत्या गराएको अनुसन्धानमा खुलेको डिएसपी श्रेष्ठको भनाइ छ । पूर्वराज्यमन्त्री रायको फार्म हाउस र वीरेन्द्रको खेत एकै ठाउँमा टाँसिएको छ । उक्त फार्म हाउस आफ्नो जग्गामा परेको वीरेन्द्रले दाबी गर्दै आएको प्रहरीले जनाएको छ ।
’करिब एक महिनाअघि वीरेन्द्रले रामउजैनमार्फत पूर्वराज्यमन्त्रीको घर–जग्गाको नक्सा झुक्याई मागेर फोटो र भिडिओ खिचेका थिए। त्यो सबै मिलाएर वीरेन्द्रले पक्की घर रहेको जग्गा आफ्नो बताउँदै आएका थिए,’ डिएसपी श्रेष्ठले भन्नुभयो, ’घटना हुनुभन्दा केही दिनअघि वीरेन्द्रले रामउजैनलाई दुई लाख रुपैयाँ र व्यवसायका लागि फर्म पनि बनाइदिन्छु भनेका रहेछन ।’
सुरूमा रामउजैनले प्रहरीलाई बाहिरबाट जग्गा सम्बन्धी विवाद मिलाउन भन्दै आएका तीन जनाले हत्या गरेको हुन सक्ने बयान दिएका थिए । तर पोलियोग्राफ टेस्टमा उनको बयान झुटो देखिएको प्रहरीको भनाइ छ ।
यस्तै, सोधपुछ गर्दै जाँदा उहाँले वीरेन्द्रको उक्साहटमा आफूले हत्या गरेको प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । हत्या गर्न प्रयोग गरेका उखु काट्ने फर्सा रामउजैनले घटनास्थलबाट करिब २५ मिटर पश्चिम बाँसको झाडीमा फालेका थिए। घटनाको भोलिपल्टै उक्त हतियार रगत र रायको कपाल टाँसिएको अवस्थामा फेला परेको थियो ।
घटना बखत उनले लगाएको गन्जी च्यातेर तीन टुक्रा पारी बेरेर गोलो बल बनाई बारी छेउको बाटोतर्फ फ्याँलेका थिए । पक्राउ परेका दुवैजना विरूद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्