ताप्लेजुङ, साउन ३१ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ सेकाथुम नजिकैको गौथली भिरबाट आएको पहिरोले दुई घर बगाएको छ । पहिरोले स्थानीय छिरिङ ठक्चे शेर्पाको पसल, घर र नजिकैको अलैंची बगानमा ठूलो क्षति पुर्याएको वडाध्यक्ष पेम्बाटासी शेर्पाले जानकारी दिनुभयो ।
होटेल सञ्चालक समेत रहेका शेर्पा बुधबार दिउँसो सदरमुकाम गएको र होटलमा रहेकी उनकी छोरी समेत बेलुका अर्को घरमा गएकाले मानवीय क्षति भएको छैन । बुधबार साँझदेखि अविरल पानी परेको र गएराति करिब २ बजेपछि पहिराले दुई घर बगाएको छ ।
घुन्सा खोलाको पुल बग्यो
बाढी पहिरोले पर्यटकीय गाउँ घुन्सा लगायत कञ्चनजंगा आधार शिविर जाने पदमार्ग अन्तर्गत घुन्सा खोलाको पुल समेत बगाए यातायात सम्पर्क टुटेको छ । पहिरोले तल्लो लामाटारमा रहेको घुन्सा खोलाको झोलुङ्गे पुल बगाएपछि पर्यटकीय घुन्सा गाउँ लगायत (कञ्चनजंघा आधार शिविर जाने बाटो) यातायात अवरुद्ध भएको छ ।
वडाध्यक्ष पेम्बाटासी शेर्पाका अनुसार पहिरो निकै ठूलो गएको छ । पुलमाथिको लठ्ठी बाहेक सबै बगेको छ । पुल नजिकैको पसल पुरै बगाएको छ । घुन्सा खोला निकै ठूलो भएको र पहिरो जाँदै गरेकोले तत्काल केही गर्न सक्ने अवस्था नरहेको वडाध्यक्ष शेर्पाले बताउनु भयो । गाउँपालिकाका अध्यक्ष राजन लिम्बुले वडाअध्यक्ष र स्थानीयसँग समन्वय गरी केही उपाय निकाल्न सकिन्छ कि भनेर अध्ययन भइरहेको बताउनुभयो।
घुन्सा खोलाको ८१ मिटर लामो पुल समेत बगाएपछि ओहोरदोहोरमा समस्या भएको छ । पर्यटकको सिजन शुरु हुँनै लाग्दा पुल बगाएपछि स्थानीय बासी विकल्पको खोजिमा रहेका छन् । उक्त पुल कञ्चनजंगा आधार शिविर जाने पदमार्गमा पर्छ ।
प्रतिक्रिया दिनुहोस्