जनता टाइम्स

६ भाद्र २०८१, बिहीबार १४:३५

डा. आरजु राणा नैतिकताको आधारमा पदमा बस्न नमिल्ने भन्दै अख्तियारमा उजुरी दर्ता


काठमाडौं, ६ भदौ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाविरुद्ध युवराज सफलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराउनुभएको छ । आज सफलले राष्ट्रमन्त्री राणा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी प्रकरण र टिकापुर जग्गा अनियमिततामा जोडिएको दाबीसहित उजुरी दर्ता गराउनुभएको हो । डा. राणाले आफूमाथि लाग्दै आएको आरोपमा अदालतबाट सफाइ नपाउँदासम्म नैतिक आधारमा पदमा बस्न नमिल्ने उहाँले उजुरीमा भन्नुभएको छ ।

उहाँले राणालाई नैतिकताको आधारमा राजीनामा दिन लगाई तत्काल अनुसन्धान गर्न अख्तियारलाई भनेका छन् । उजुरीमा भनिएको छ,‘परराष्ट्रमन्त्री आरजु देउवा प्रमाणित हुने गरी नक्कली भुटानी शरणार्थी र टिकापुर जग्गा अनियमितता प्रकरणमा जोडिएको देखिन्छ ।

मन्त्री हुन उच्च नैतिकता हुन पर्ने हुँदा उहाँले उल्लेखित प्रकरणमा अदालतबाट सफाई नपाउँदा सम्म उहाँले नैतिकताको आधारमा पदमा बसी राख्न मिल्दैन । तसर्थ तत्काल निज विपक्षी आरजु राणा देउवालाई नैतिकताको आधारमा राजिनामा दिन लगाई उहाँ उपर तत्काल अनुसन्धान गर्न सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउन चाहन्छु । यदि यस उजुरी उपर कारबाही नगरे सम्मानित सर्वोच्च अदालत सम्म जाने पनि जानकारी गराउन चाहन्छु ।’