जनता टाइम्स

७ भाद्र २०८१, शुक्रबार १२:०२

निःशुल्क स्वास्थ्य र शिक्षा जनताको संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्छ : नैनसिंह महर


टीकापुर, ७ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले निःशुल्क स्वास्थ्य र शिक्षा संविधान प्रदत्त अधिकार कार्यान्वयनका लागि सरकार जिम्मेबार बन्नु पर्ने बताउनुभएको छ । टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले संविधानले ग्यारेन्टी गरेको विषय कार्यान्वयनमा ल्याउन संयुक्त सरकारको ठूलो दल कांग्रेसले समेत महत्त्वपूर्ण भूमिका खेल्नु पर्ने बताउनुभयो । ‘संविधानको शिक्षासम्बन्धी मौलिक हकमा नागरिकले निस्शुल्क स्वास्थ्य शिक्षा पाउने कुरा उल्लेख छ। तर, हाम्रा विद्यार्थी चर्को शुल्क तिर्न बाध्य छन् । यसको अन्त्य हुनुपर्छ,’ महरले भन्नुभयो ।

संवैधानिक व्यवस्था कार्यान्वयनमा कांग्रेस लागेको र निस्शुल्क स्वास्थ्य शिक्षाका कार्यान्वयनका लागि आधार तयार पारिरहेको उनले जानकारी दिनुभयो । उहाँले यस विषयमा सरकारसँग आवश्यक छलफल हुने बताउँदै भन्नुभयो,‘कांग्रेसले समग्र शिक्षा क्षेत्रको विकासका लागि पोलिसी निर्माण गर्ने अभियान थालेको छ । निःशुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार, जनताको अधिकार, नेपाली कांग्रेसको सरकार भन्ने नारा ऐजेण्डा उठाएको छ । निःशुल्क र गुणस्तरिय शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउने प्राय राजनीतिक दलले घोषणापत्रमा मात्र सीमित राखेका छन् ।’

जनताको शिक्षा र स्वास्थ्यमा राज्यले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । शिक्षा र स्वास्थ्य नै महँगो भए नागरिकले आफ्ना सन्तान पढाउन र उपचारका लागि जोहो गर्नकै लागि भए पनि आफ्नो आम्दानीले नपुगेर भ्रष्टाचार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको महरले चिन्ता व्यक्त गर्नुभयो । शिक्षा र स्वास्थ्य मात्र निःशुल्क गर्न सकेमा धेरै भ्रष्टाचार आफैँ रोकिने उहाँको धारणा छ ।