काठमाडौं, ७ भदौ । नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताउनुभएको छ । कांग्रेस केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उहाँले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरी काम गर्ने बताउनुभएको हो । उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गर्नुभयो । उपप्रधानमन्त्री सिंहको नेतृत्वमा कांग्रेस वर्तमान सरकारमा सहभागी छ ।
‘पार्टीले जिम्मा दिएर सरकारमा पठाएको छ । पार्टी र पार्टीका साथीहरुको शीर उच्च हुने गरी काम गर्नेछु,’ उपप्रधानमन्त्री सिंहलाई उद्धृत गर्दै उहाँको सचिवालयले जनाएको छ । फरक सन्दर्भमा उपप्रधानमन्त्री सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आमनिर्वाचन लड्न पाउनुपर्ने मत राख्नुभएको छ । नेतृत्वमा कति कार्यकालसम्म निर्वाचन लड्न पाउने भन्ने प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उहाँले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्