काठमाडौं, भदौ ७ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताउनुभएको छ ।
जयतु संस्कृतम् संस्थाले शीतल निवासमा आज आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विश्वका विभिन्न विश्वविद्यालयमा संस्कृत वाङ्मयको पठनपाठन हुनुले यसको महत्व विश्वव्यापी हुँदै गएको पुष्टि हुने बताउनुभयो । उहाँले संस्कृत अमृत भाषा भएको उल्लेख गर्नुहुँदै यसभित्र अमर सन्देश रहेको र जसबाट अहिले पनि मानव जगत आल्हादिन भइरहेको बताउनु भयो ।
‘संस्कृत भाषा र संस्कृत वाङ्मय ज्ञान विज्ञानको भण्डार हो, यो भाषा र वाङ्मयको विस्तार आवश्यक छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो । शुक्लयजुर्वेदलगायतका कयौँ ग्रन्थ नेपालमै लेखिएका थिए भन्ने अनुसन्धाताको विचार पाइन्छ भन्दै उहाँले वेदव्यास, वाल्मीकि, विश्वामित्रजस्ता कयौँ ऋषिहरूको तपोभूमि नेपाल हो भन्नुभयो ।
विसं २००४ मा बोल्न, लेख्न र सङ्गठन गर्न नपाउने जनविरोधी एक तन्त्रीय राणाशासनको युगमा संस्कृत अध्ययन गर्ने छात्रले काठमाडौँमा सशक्त आन्दोलन गरेर राणा सरकारलाई झुक्न बाध्य बनाएको प्रसङ्ग उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, ‘जयतु संस्कृतम् आन्दोलनले नै स्वतन्त्रताको बिगुल फुकेको थियो र प्रजातन्त्रको बीजारोपण गरेको थियो, नेपालमाा प्रजातन्त्रको स्थापनामा जयतु संस्कृतम् आन्दोलनको ठूलो योगदान छ ।’
संस्कृतमा वसुधैव कुटुम्बकम् भनेर विश्वन्धुत्वको भावना, लोकाः समस्ता सुखिनो भवन्तु भनेर विश्वमानव समुदायको कल्याणको कामना र सर्वे भवन्तु सुखिनः भनेर मानवमात्रको सुख तथा समृद्धिको संकल्प गरिएको पाइन्छ भन्दै राष्ट्रपति पौडेलले यी उदात्त भावना र विचारलाई हामीले मनन् र प्रयोग गर्न सक्नुपर्छ भन्नुभयो ।
जयतु संस्कृतम् आन्दोलनको मूल प्रवाहमै रहेर अभियानस्वरुप थालिएको यस संस्थाले संस्कृतका ग्रन्थको लेखन र प्रकाशन, विद्वत्सम्मान, संस्कृत गुरुकुल तथा विद्यालयको संरक्षण र विकास कार्य गर्नु खुशीको विषय भएको उहाँको भनाइ थियो । सबै भाषाभाषीले सबै भाषाभाषीलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण तथा समुत्थान सम्भव हुने राष्ट्रपति पौडेलले विचार व्यक्त गर्नुभयो ।
‘कुनै भाषाले कुनै भाषालाई निषेध गर्नुहुँदैन, सबै भाषाभाषीले सबै भाषाभाषीलाई सम्मान, सहयोग र समन्वय कायम गरेमा प्रत्येक भाषाको संरक्षण तथा समुत्थान सम्भव छ,’ उहाँले भन्नुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेल र प्राध्यापक नीलमणि ढुङ्गानालाई जयतु संस्कृतम् पुरस्कार प्रदान गर्नुभयो ।
राष्ट्रपति पौडेलले प्राडा ऋषिराम पोखरेल, प्राडा दीर्घराज घिमिरे, प्राडा रामचन्द्र गौतम, प्रा गोविन्द चौधरी र प्राध्यापक चेतोनाथ आचार्यलाई अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा जयतु संस्कृतम् संस्थाका अध्यक्ष डा बद्री पोखरेलले संस्कृत भाषाको प्रवर्दनमा गरिएका कामका बारेमा जानकारी गराउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्