काठमाडौं, ८ भदौ । गृहमन्त्री रमेश लेखकले त्रिवि शिक्षण अस्पतालमा पुगेर बस दुर्घटनामा परी घाइते भएकाहरुको स्वाथ्य अवस्थाबारे जानकारी लिनुभएको छ । शुक्रबार पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहराबाट बस मर्स्याङ्दी नदीमा दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए भने १६ जना घाइते भएका छन् । घाइते भएकाहरुको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
सोही घटनापछि भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से काठमाडौं आइपुग्नुभएको छ । उहाँले पनि घाइतेहरुको शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्था बुझ्नुभएको छ । गृहमन्त्री लेखकले भारतीय राज्यमन्त्री खड्सेसँग पनि संवाद गर्नुभएको थियो । घाइतेहरुको अवस्थाबारे जानकारी लिएसँगै त्रिवि शिक्षण अस्पताल परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले घाइतेहरुको उचार राम्रोसँग भइरहेको बताउनुभयो ।
‘नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरुलाई बचाउन सकियो । केही मानिसहरुको मृत्यु पनि भएको छ, दुःखद् घटना भएको छ । घाइतेहरुको यहाँ उपचार भइरहेको छ । अहिले राम्रोसँग उपचार भइराखेको छ । भारतबाट पनि एकजना राज्यमन्त्रीजी आउनु भएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुँदोरहेछ, महाराष्ट्रको । उहाँ पनि भेटघाट गरिहनु भएको छ,’ मन्त्री लेखकले भन्नुभयो । घाइते १६ जनामध्ये एक दुई जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सुधार हुँदै गएको मन्त्री लेखकले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्