काठमाडौं, ११ भदौ । मंगलबार बिहान र दिउँसो कांग्रेस नेताहरुसँग दुई अलग–अलग छलफलका क्रममा सभापति शेरबहादुर देउवाले एमालेसँगको सत्तासमीकरणबारे केही अर्थपूर्ण संकेत र सन्देश दिनुभएको छ । देउवाले एमालेसँगको सत्ता–सहकार्यबारे पुनर्विचार गर्न लागेका हुन् भनी स्वयं कांग्रेसभित्र मात्र नभए बाहिर मुख मिठाए केहि दल बस्नु अनौठो थिएन । देउवाले चाहेमा उनी दुई वर्षपछि होइन, तुरुन्तै प्रधानमन्त्री बन्न सक्छन् भनी आएका अफरहरुबारे समेत त्यहाँ जिज्ञासा उठेका थिए ।
काठमाडौंको राजनीतिक वर्ग, अनि सेयर बजार लगायत वित्तीय क्षेत्रमा समेत पर्न थालेको प्रभावका बीच संसदको ठूलो दलभित्र सम्भावित राजनीतिक कोर्स के हुन सक्छ भन्ने प्रश्न उठ्न गयो । यो सरकार ढल्दैछ भन्ने हल्लासँगै शेयर बजारमा गिरावट सुरु भएको प्रसंगलाई पनि कांग्रेस नेताहरुले नोटमा लिएका थिए । एमाले अध्यक्ष केपी ओलीको नेतृत्वलाई देउवाले बालकोटमै पुगेर दिएको सत्ताको अफर धरापमा पर्न लागेको हो भन्ने केही पदाधिकारीको जिज्ञासासमेत त्यहाँ प्रस्तुत भएको थियो ।
भर्खरै परराष्ट्रमन्त्री आरजु राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरसमेत भेटेर आएपछि त यी हल्लाहरुलाई ठूलै आधार मिल्न गएको ठानियो । यी सबै पृष्ठभूमिको जोडकोणमा देउवाले आफ्ना भनाइ प्रस्तु गर्नुभएको छ । गृहमन्त्री रमेश लेखकसमेत सहभागी मंगलबारको उक्त बैठकमा देउवाले ओलीसँगको सहकार्यको भविष्यबारे संक्षिप्तमा, तर दूरगामी महत्वका केही विषयहरु अघि राख्नुभयो । देउवाले कांग्रेस उच्च तहका नेताहरुसँग मंगलबार दिउँसो भन्नुभयो , ‘अनेक हर्कतहरु भइरहेको छ । देशभित्रका, देशबाहिरका मान्छेहरुसमेत काठमाडौंमा आउने जाने भइरहेको छ ।
ओलीजीलाई ढालेर कांग्रेस–माओवादी, या अरु पनि विकल्पमा सरकार बनाउन सकिन्छ कि भन्ने जोडघटाउ पनि गर्दैछन् भन्ने थाहा पाएको छु । तर अहिले हामीले जुन सहमति गरेर ओलीजीलाई समर्थन गरेका छौं, यो कतैबाट हलचल हुँदैन । हामीले सोचविचार गरेर निर्णय गरेको हुनाले अहिलेको सहमतिलाई तलमाथि गर्ने खालको कुनै कुराहरु गर्न सक्दैनौं । त्यस्तो हुनु पनि हुँदैन ।’ परराष्ट्रमन्त्री राणाको भारत भ्रमणबारे उठेका प्रश्नहरुबारे पनि देउवाले संक्षिप्तमा कुरा राख्नुभयो । उहाँले मन्त्रीहरुका कामकारबाही प्रधानमन्त्रीको सहमति र समन्वय बेगर हुनै नसक्ने भन्दै राणाको दिल्ली भ्रमण अगाडि भएका समन्वयहरुको पनि पृष्ठभूमि सुनाउनुभयो ।
गृहमन्त्री रमेश लेखकले उपसभापति र महामन्त्रीसँगको बैठकमा देउवाकै कुरामा जोड दिँदै भने, ‘परराष्ट्रमन्त्रीजी दिल्ली जानुअघि पनि प्रधानमन्त्रीज्यूसँग लामो छलफल भएको थियो, प्रधानमन्त्रीले नरेन्द्र मोदीजीलाई लेखेको नेपाल भ्रमणको निमन्त्रणापत्र उहाँले नै बोकेर लैजानुभएको हो । नेपाल आइसकेपछि पनि भ्रमणबारे लामो कुराकानी बालुवाटारमै भएको थियो ।’
बुढानीलकण्ठ बैठकमा सहभागी नेताहरुले अनुसार कांग्रेसभित्र ओलीसँगको सहकार्यलाई लिएर विश्वास थप जागृत भएको छ । दुई नेताहरुको बीचमा चलिरहेको समन्वय पनि सन्तोषप्रद रहेको भन्दै उनीहरुले तत्कालै कुनै उतारचढाव आउने संकेत नरहेको दाबी गरेका छन् । एक कांग्रेस नेताले भन्नुभयो , ‘अरुले कता कसलाई कसरी भेटे भन्ने कुराको अर्थ छैन, आजको दिनमा सत्तासमीकरणको चाबी सभापतिजीसँगै छ । उहाँले नै यसो भनेपछि सक्कियो । आजको कुरो यत्ति हो ।’यी सबै पृष्ठभूमि हेर्दा ओली–देउवाबीचको १७ असारको सहमति हाललाई अक्षरशः अगाडि बढ्ने आधार नै बलियो देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्