जनता टाइम्स

१२ भाद्र २०८१, बुधबार १५:३१

धितोपत्र विधेयकको ड्राफ्ट ल फर्ममा गरिएको भन्दै रास्वपाको आपत्ति


काठमाडौं, १२ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभामा ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ को ड्राफ्टलाई लिएर संसदमा प्रश्न उठाएको छ । मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभामा पेश गरेको ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ अमूक ल फर्ममा ड्राफ्ट भएको भन्दै रास्वपा सांसद सुमना श्रेष्ठले प्रश्न उठाउनुभएको छ ।

सांसद श्रेष्ठले उक्त विधेयक अमूक ल फर्ममा ड्राफ्ट भएको पाइएको भन्दै खारेजीको माग गर्नुभएको छ ।

उहाँले भन्नुभयो,‘विधेयकको अथरमा अमुक ल फर्मको नाम छ । के अर्थ मन्त्रालयको माइक्रोसफ्ट वर्ड सबै त्यो ल फर्मले किन्दिएको हो कि ? त्यो विधेयक नै ल फर्ममा गएर ड्राफ्ट गरिएको हो ? यस्तो महत्वपूर्ण विधेयक, नेपालको जुनसुकै विधेयक पनि नेपालको कर्मचारीले ड्राफ्ट गर्छ कि, सरकारले ड्राफ्ट गर्छ कि ल फर्मले ड्राफ्ट गर्छ ? आउट सोर्स गरिएको भए, आउट सोर्सको डक्यूमेन्टेसन चाहियो । यो धितोपत्र सम्बन्धि विधेयक अमुक ल फर्ममा डेभलप गरिएको भए यो खारेज गरेर फेरि अर्को दर्ता गर्नुपर्यो ।’

सो विधेयकको प्रपटिजमा पाइनियर ल फर्मको नाम देखाएको र सो ल फर्म पूर्व सभामुख एवं नेकपा एमाले नेता स्वर्गीय नेता सुवास नेम्वाङको हो ।