काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवा धरौटी बुझाएर रिहा भएका छन् । सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढा शुक्रबार ९–९ हजार धरौटी बुझाएर रिहा भएका हुन् ।
उनीहरूविरुद्ध प्रहरीले शुक्रबार नै सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा दायर गरेको छ । रिहाका लागि चौतर्फी दबाबका बाबजुद जिल्ला प्रहरी परिसर, काठमाडौंले एक वर्षसम्म कैद सजाय माग गरी सरकारी वकिल कार्यालयमार्फत मुद्दा अगाडि बढाएको छ ।
उनीहरूलाई काठमाडौं जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो । यहि भदौ १० गते टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा पुगेका प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाविरुद्ध उनीहरूले नाराबाजी गरेको आरोप छ । जुन घटनाप्रति ओली र देउवाले मञ्चबाटै असन्तुष्टि व्यक्त गर्दै आक्रामक भएका थिए ।
प्रतिक्रिया दिनुहोस्