जनता टाइम्स

२० भाद्र २०८१, बिहीबार १४:२७

विराटनगरसँग जोड्न विमानस्थलहरुमा उडान सुरु गर्न पहल भइरहेको छ : मुख्यमन्त्री कार्की


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडी तथा हिमाली जिल्लाहरुलाई प्रदेश राजधानी विराटनगरसँग जोड्न विभिन्न विमानस्थलहरुमा उडान सुरु गर्न पहल गरिरहेको बताउनुभएको छ ।

आज विराटनगरमा आयोजित दोश्रो आवधिक योजना निर्माणमा सहयोग गर्ने प्राध्यापकहरुलाई प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय बनाए बंगलादेश र भारतका कतिपय सहरमा सिधै व्यापार प्रर्वद्धन गर्न सहयोग पुग्ने बताउनुभयो ।

तर त्यो सम्भावना अहिले नदेखिएको उहाँले प्रस्ट्याउनु भयो । कोशी प्रदेशमा ११ वटा विमानस्थल रहेको भएपनि एक दुईमा मात्रै उडान भइरहेको भन्दै मुख्यमन्त्री कार्कीले विराटनगरबाट पहाडी र हिमाली जिल्लामा सम्भावना हेरेर उडान सुरु गर्न आग्रह गरिएको बताउनुभयो । यसका लागि निजी क्षेत्रसँग यो विषयमा कुराकानी भइरहेको र लागत साझेदारी गर्न समेत प्रदेश सरकार तयार रहेको बताउनुभयो ।

उहाँले २०८२ साललाई कोशी भ्रमण वर्ष बनाउने तयारी गरिएको र त्यस अघि नै कही स्थानमा हवाई उडान सुरु गर्ने तयारी भइरहेको बताउनुभयो । कोशी प्रदेशमा सहज घुम्न आउने जनसंख्या भारत र बंगलादेशमा गरी ५ करोड बढी रहेको भन्दै उनीहरुलाई आकर्षित गर्न प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो ।

उहाँले भारतबाट धार्मिक पर्यटक कोशी प्रदेशमा ल्याउन सकिने प्रशस्त सम्भावना रहेको भन्दै त्यसलाई हेरेर योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

कोशी प्रदेशले आइटी र कषि क्षेत्रलाई पनि उत्तिकै महत्व दिएको भन्दै मुख्यमन्त्री काकीले भन्नुभयो – ‘हामीले यी दुबै क्षेत्रमा निर्यात बढाउने सम्भावना छ, कोशी सरकार निर्यात बढाउने गरी योजना बनाएर अघि बढेको छ ।

पर्यटन र निर्यातबाट विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । अहिलेको आवश्यक्ता नै यही हो ।’