जनता टाइम्स

२४ भाद्र २०८१, सोमबार १९:१३

कांग्रेसमा विचार र आचरणको बहस आवश्यक छ : नैनसिंह महर


काठमाडौं, २४ भदौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा विचार र आचरणको बहस गर्नुपर्ने बेला भएको बताउनुभएको छ । १११औं विपी जयन्तीका अवसरमा नेपाली कांग्रेस सुर्खेतद्वारा आयोजित ‘विपी चिन्तन र वर्तमान राजनीति’ विषयक विमर्शमा उनले यस्तो बताउनुभएको हो । ‘६ हजार ७४३ वटै वडामा पार्टीलाई बलियो बनाउने गरी कांग्रेसले सांगठनिक अभियान चलाउने निर्णय गरेको छ । अभियानमा पार्टी संगठनमा ताजकी ल्याउनका साथै विचार र आचारणको बहसलाई वडा तहसम्मै लैजान आवश्यक छ,’ महरले भन्नुभयो ।

भदौ १६ गतेको केन्द्रीय समिति बैठकले सय दिने सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको भन्दै पार्टीको विचारमा पनि प्रस्टता ल्याउने अभियानलाई उपयोग गर्नुपर्ने महरले बताउनुभयो । ‘कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत प्रमुख दल सैद्धान्तिक रुपमा फरक भए पनि व्यवहारमा एउटै देखिए भन्ने आम मानिसको बुझाइ छ । कांग्रेस अन्य दलभन्दा फरक छ भनेर हामीले व्यवहारबाटै देखाउनुपर्छ । असोज १ बाट सुरु भएर पुस १० गतेसम्म सय दिन चल्ने अभियानमा विचार र व्यवहारमा हामी फरक हौं भनेर जानुपर्छ,’ उहाँले भन्नुभयो ।

विपी कोइरलाले कांग्रेसलाई अन्य पार्टीभन्दा विचार र व्यवहारले नै फरक देखाएको उहाँले स्मरण गर्नुभयो । तर, पछिल्लो समय पार्टीमा विचारको बहस हराउँदै गएको उहाँको टिप्पणी छ । ‘पार्टीको प्रमुख लक्ष्य सत्ताभन्दा पनि जनता हो । जनतामुखी विचार र दृष्टिकोण राखेर हामी अगाडि बढिरहेका छौं कि छैनौं भन्ने मूल प्रश्न हो। हाम्रो व्यवहार जनतालाई मन परेको छ कि छैन भन्ने हेक्का राख्नुपर्छ,’ उहाँले भन्नुभयो ।

नेकपा एमालेसँग सत्ता सहकार्य गरे पनि प्रतिस्पर्धा पनि उसैसँग हुने भन्दै कांग्रेसको संगठनमा जागरणको खाँचो महरले औंल्याउनुभयो । ‘पुराना दल सबै खराब हुन् भन्ने भाष्य निर्माणको प्रयास भइरहेको छ । त्यसलाई चिर्नु आजको चुनौती हो । यो देशको विगत, वर्तमान र भविष्य नै नेपाली कांग्रेस हो भन्ने कुरा नेपाली जनतालाई बुझाउनुपर्छ । सत्तामा भएका साथीले कामबाट यसको जवाफ दिनुपर्छ,’ उहाँले भन्नुभयो । नयाँ राजनीतिक दल स्थापनाको दुई वर्षमै नांगिएको भन्दै मुलुकमा कांग्रेसको विकल्प नभएको महरको भनाइ छ ।