काठमाडौं, १ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने स्पष्ट गर्नुभएको छ । काठमाडौंमा आज कांग्रेसको कानुन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानमा सुधार हुने कुराहरू संशोधन गर्ने बताउनुभएको हो ।
संबिधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै सभापति देउवाले भन्नुभयो,‘ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति भएको छ । संविधानमा सुधार हुने कुरामा संशोधन आवश्यक पनि छ । तर संविधान संशोधन प्रजातन्त्रको खिलाफ हुँदैन । साँच्चै भन्ने हो भने ओलीजीलाई मैले पहिलो पटक जेलमा भेटेको हुँ । हामी प्रजातन्त्रका लागि लड्दै आएका छौं । यसलाई मजबुत बनाउने र जनताप्रति जवाफदेही बनाउनुपर्ने आवश्यकता छ । हामी प्रजातन्त्रको खिलाफमा कुनै काम गर्दैनौं ।’
सभापति देउवाले प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने तर प्रदेश संरचना हटाउन नसकिने बताउनुभयो । उहाँले भन्नुभयो,‘प्रदेश संरचना हट्ने कुरा छैन । हटाउने अवस्था पनि छैन । यसलाई कसरी उत्तरदायी बनाउने भन्ने छ । यसलाई बढी प्रभावकारी बनाउनुपर्छ ।’ उहाँले राजनीतिबाट अहिले पनि कतिपय समाज टाढा रहेकाले समानुपातिक प्रणालीमा सुधार ल्याउन सकिने बताउनुभयो । उहाँले समानुपातिक निर्वाचन प्रणालीमा समस्या रहेको बताउदै अझ बढी समावेशी बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्