काठमाडौं, असोज ९ । प्रेस चौतारी नेपालका नेताहरूले जन्मदिन लगायत उत्सवहरूमा फजुल खर्च गर्ने कार्यलाई रोक्दै नयाँ अभ्यास सुरुवात गरेका छन् ।
संगठनका नेहरुले आफ्नो जन्मोत्सव तथा अन्य उत्सवहरू होटेलमा नमनाई संगठनको केन्द्रीय कार्यालयकै हलमा मनाउने र होटेलमा हुने खर्च प्रेस चौतारी नेपालको कोषमा स्वैच्छिक सहयोग गर्ने काम थालेका छन् ।
सोही क्रममा संगठनका अध्यक्ष गणेश बस्नेतले बुधबार आफ्नो जन्मदिन संगठनकै केन्द्रीय कार्यालयमा मनाइ जन्मदिनको अवसरमा प्रेस चौतारी नेपालको पत्रकार कल्याण कोषमा ५ हजार १ सय रुपैँया जम्मा गर्नुभएको छ ।
‘अनेक फजुल खर्च गर्नुभन्दा कार्यालयमा नै जन्मदिन मनाउने र त्यहाँ हुने खर्चको केही अंश पत्रकार कल्याण कोषमा जम्मा होस् भनेर यस्तो काम सुरु गरेका हौँ’, अध्यक्ष बस्नेतले भन्नुभयो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका उपाध्यक्ष गणेश पाण्डे, राजेश राइ, महासचिव हिरामान लामा, उपमहासचिव राजु सुवेदी, कोषाध्यक्ष इन्द्र आचार्य, सचिव हरिबल्लभ नेपाल, बिष्णु तारुकेलगायतका पदाधिकारी तथा केन्द्रीय सदस्य लगायतको सहभागिता रहेको थियो ।
यस्तो कार्यले प्रेस चौतारी नेपालले सुरु गरेको पत्रकार कल्याण कोष बढाउने अभियानमा सहयोग पुग्ने संगठनका महासचिव हीरामान लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्