जनता टाइम्स

१२ आश्विन २०८१, शनिबार १३:३७

रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको मोटेरेवल पुल बाढीले बगायो


रामेछाप, १२ असोज । रामेछाप र सिन्धुली जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्कोटमा रहेको मोटेरेवल पुल आज मध्यान्ह्को समयमा बगाएको स्थानीयले बताएका छन् ।

यो पुल निर्माण भएपछि रामेछाप, ओखलढुंगा र दोलखाका नागरिकलाई राजधानी काठमाडौँ जाने आउने दुरी छोटो भएको थियो । यो पुल बगाएसँगै अब रामेछापका नागरिकहरूलाई सित्खाको बाटो वा दोलखाको चरिकोट हुँदै खाडिचौरको बाटो भएर राजधानी काठमाडौँ आऊजाऊ गर्नुपर्ने भएको छ ।

यो पुल एसियाली विकास बैङ्कको अनुदानमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाको १७ करोड रुपैयाँ भन्दा बढी लगानीमा आर्थिक वर्ष २०७१/०७२ मा अनक, बाइपि तुण्डी जेभीले निर्माण गरेको थियो । यो पुल बनेपछि रामेछाप सदरमुकाम मन्थलीबाट काठमाडौं जान झन्डै ७५ किलोमिटर दूरी कम भएको थियो ।