काठमाडौं, कात्तिक ५ । बालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक महिला पक्राउ परेकी छिन ।
पक्राउ पर्नेमा नुवाकोटको तादी गाउँपालिका–३ घर भई काठमाडौंको मूलपानी बस्दै आएकी ४३ वर्षीय सीता गोतामे रहेको प्रहरीले जनाएको छ । गोतामेलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले कात्तिक २ गते मूलपानीबाट पक्राउ गरेको हो ।
उनले बन्धक बनाएर चार बालिकालाई यौन व्यवसायमा लगाएको पाइएको ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । एसपी गौतमका अनुसार प्रहरीले उनको घरबाट चार बालिकको उद्धार समेत गरेको छ ।
उनले मूलपानीमा एक घर भाडामा लिएर घरमा भाँडा माझ्ने, सरसफाइको काममा लगाउने र मासिक २० हजार रुपैयाँ दिने भन्दै बालिकालाई प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको पाइएको प्रहरीले जनाएको छ ।
बालिकालाई यौन व्यवसायमा लगाएर गोतामेले प्रतिग्राहक १ हजारदेखि ३ हजार रुपैयाँसम्म लिने गरेको प्रहरीको दावी छ । पक्राउ परेकी महिला विरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
स्थानीयवासीको भनाई उधृत गर्दै अनुसन्धानमा संलग्न अधिकारीहरुले जनाएअनुसार पक्राउ परेकी महिलाले आफूलाई सामाजिक कार्यकर्ता र समाजसेवीका रुपमा परिचय दिने गरेकी थिइन । सोही आवरणमा उनले यस्तो आपराधिक धन्दा चलाएको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्