काठमाडौं, २६ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्सेनि हजारौँ युवा रोजगारी र शिक्षाको खोजीमा विदेशिने क्रम बढ्दा देशमा दक्ष जनशक्तिको अभाव भएको बताउनुभएको छ । पीयुएम नेदरल्याण्ड्सको बिदाइ तथा व्यापार वृद्धि विकल्प (वृद्धि) को स्वागतमा आज आयोजित कार्यक्रममा उहाँले व्यावसायिक वातावरण सुधारका लागि नीतिगत सहजीकरण, उद्यमशीलता विकासमा समन्वय, स्वदेशी उत्पादन र रोजगारी प्रवर्द्र्धनको आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुभएको हो ।
मन्त्री भण्डारीले भन्नुभयो,‘म विशेष गरी युवालाई स्वदेशमै रहेर वा फर्केर काम गर्ने वातावरण सिर्जना गर्न खोजी गर्ने वृद्धि संस्थाको दृष्टिकोणको सराहना गर्दछु, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाको नेटवर्कमार्फत उद्यमशीलता प्रवर्द्धन गर्ने यसको रणनीति महत्वपूर्ण छ ।’ सन् २००१ देखि नेपालमा सेवा सुरु गरेको पीयुएमले एक हजार बढी साना तथा मझौला उद्यमी, कृषक, शैक्षिक संस्था र व्यावसायिक संस्थालाई सहयोग पुर्याएको उल्लेख गर्दै उहाँले फूलखेती, डेरी उद्योग, पर्यटन व्यवसाय, हस्तकला, कपडा उद्योग, तरकारीखेतीलगायतमा गरेको योगदानको सराहना गर्नुभयो ।
उहाँले उद्योग मन्त्रालयले रोजगारी सिर्जना तथा अन्य आर्थिक गतिविधि बढावा दिन वृद्धिसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । पीयुएम नेदरल्याण्डस् सन् १९७८ मा नेदरल्यान्डसमा स्थापित भई नेपालमा २३ वर्षदेखि विभिन्न सामाजिक तथा आर्थिक क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था हो । वृद्धि पीयुएमसितको सहकार्यमा त्यसै संस्थाका कामको निरन्तरतासहित नेपालमा रोजगारी तथा आर्थिक उत्थानका क्षेत्रमा काम गर्न स्थापित संस्था रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्