ढोरपाटन, कात्तिक २७ । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङ जिल्ला कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उहाँले सरकारमा सहभागी राजनीतिक दलले जनता केन्द्रित काम गर्नुपर्नेमा जोड दिनुभयो ।
देशमा जति नयाँ पार्टी खुले पनि पुरानै पार्टीले मुलुक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उहाँको भनाइ थियो ।
विसं २०४६ को परिवर्तनपछि देशमा विकास निर्माणका कार्यले गति लिएका बताउँदै पूर्वअर्थमन्त्री डा. महतले नेपाली कांग्रेस आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने विचार व्यक्त गर्नुभयो । ‘पार्टीको सुदृढीकरणका लागि सम्पूर्ण कार्यकर्ता एकताबद्ध हुनुपर्छ’, उहाँले भन्नुभयो । स्थानीय तहबाटै नेता तथा कार्यकर्ताबीच एकता हुनुपर्नेमा जोड दिँदै उहाँले व्यक्तिभन्दा माथि पार्टीलाई राख्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्