लुम्बिनी, २७ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुद्ध सर्किटलाई आधार मानेर मोनोरेल सञ्चालनको सम्भाव्यता अध्ययनमा सहयोग गर्नेबारे योजना अघि सार्नुभएको छ । छिमेकी देश चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन भ्रमणमा रहनुभएका मुख्यमन्त्री आचार्यले व्यापार र लगानीको बारेमा आज भएको विज्ञसहितको कार्यशालामा रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तु जिल्लालाई बुद्ध सर्किटसँग जोड्ने योजनालाई कार्यान्वयनमा ल्याउन मोनोरेल सञ्चालनबारे अध्ययनका लागि विदेशी लगानीकर्तासमक्ष योजना अघि सार्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
‘बुद्ध सर्किटमा मोनोरेल सञ्चालनको लागि सम्भाव्यता अध्ययन गर्न आह्वान गर्ने काम भएको छ । यसबाट आउने नतिजाको आधारमा थप प्रक्रियाअघि बढाइने छ । यसका साथै प्रदेश राजधानी सहरलाई नमूना बनाउने र राजधानी सहरलाई सडक सञ्जालबाट जोड्ने गरी बृहत् योजना अघि सारिएको छ । लगानीकर्ता र विज्ञहरूको ध्यान केन्द्रित गर्न सफल भएका छौँ’, मुख्मन्त्रीको भनाइ उद्धृत गर्दै सचिवालयले भनेको छ ।
मुख्यमन्त्री आचार्यले प्रदेशमा कृषि, उद्योग, व्यापार क्षेत्रको विकासमा पनि विदेशी दातृ निकाय तथा लगानीकर्ताको ध्यानाकर्षण गराउनुभएको छ । छलफलमा मुख्यगरी प्रदेश राजधानी सहर निर्माण आयोजना, भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्रदेश राजधानी सहर राप्ती देउखुरी जोडन आवश्यक पर्ने सुरुङमार्ग निर्माण, बुद्ध सर्किटमा पर्ने विभिन्न स्थानमा पर्यटकी पूर्वाधार निर्माण र मोनोरेल, लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि चिनियाँ प्राविधिक विश्वविद्यालयको आवश्यक सहयोग विषयमा ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै चिनियाँ विधायन पद्धति र सिकाइका आधारमा लुम्बिनी प्रदेशसभाका सभासद्हरूको क्षमता अभिवृद्धिका लागि आवश्यक सहयोग, कृषक, पशुपालकको लागि क्षमता अभिवृद्धि उत्पादित वस्तु बजारीकरण तथा जडीबुटी उत्पादकको लागि क्षमता विकासमा सहयोग तथा बजारीकरणमा सहयोग, पर्यटनस्थल व्यवस्थापन र पथ प्रदर्शनसम्बन्धी विशिष्ट तालिम एवं भाषा प्रशिक्षणको विषयमा ध्यानाकर्षण गराइएको छ । सम्मेलनमा मुख्यमन्त्री आचार्यसहित प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत सहभागी हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्