काठमाडौं, कात्तिक २७ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले चालु आर्थिक वर्ष वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन भएका कर्मचारीको विवरण माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मागे बमोजिम संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, आयोग तथा सचिवालयसँग त्यस्ता कर्मचारीको विवरण दुई दिनभित्र पठाउन सूचना जारी गरेको छ ।
आज मन्त्रालयले जारी गरेको सूचनामा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट नेपाल सरकारका विभिन्न निकायमा मनोनयन भइ वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन भएका कर्मचारीको माग भइ आएकोले’ भन्दै सम्बन्धित मन्त्रालय, आयोग र सचिवालयलाई त्यस्ता कर्मचारीको विवरण दुई दिनभित्र पठाउन भनिएको छ ।
सामान्य प्रशासन मन्त्रालयको सूचना अनुसार सबै मन्त्रालय, आयोग र सचिवालयले विदेश भ्रमणमा रहेका कर्मचारीको नाम, थर, कार्यरत निकाय, भ्रमणको उद्देश्य वा विषय, भ्रमण गरेको वा गर्ने देश, भ्रमण अवधिसहितको विवरण खुलाएर पठाउनुपर्ने छ ।
प्रतिक्रिया दिनुहोस्