लम्की, मङ्सिर १६ । यहाँस्थित लम्कीचुहा नगर अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ । आज लम्कीचुहा नगरपालिकाका नगर प्रमुुख सुशीला शाहीले नयाँ भवनको शिलान्यास गर्नुभयो । बिरामीको चापलाई मध्यनजर गर्दै नगर अस्पतालको स्तरोन्नति गरी २५ श्ययाको अस्पताल सञ्चालन गर्ने उदेश्यले नयाँ भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । नयाँ भवन निर्माण भएपछि बिरामीलाई सेवा दिन सहज हुने उहाँको भनाइ छ । हाल लम्कीचुहा नगरपालिकामा दैनिक तीनदेखि चार सय बिरामीले सेवा लिइरहेका छन् ।
सेवाग्राहीलाई सेवा दिन पर्याप्त भवनको अभाव भएकाले नयाँ भवन निर्माण हुन लागेको अस्पतालका व्यवस्थापन प्रमुुख जयन्द्र जैशीले बताउनुुभयो । लम्कीचुहा नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको भवन अढाई तलाको हुनेछ । पहिलो चरणमा एक तलाको काम चालु आर्थिक वर्षको असार मसान्तमा सम्पन्न गर्ने लक्ष्य छ । हाल १५ श्ययाको अस्पताल भवन निर्माणसँगै २५ श्ययामा स्तरोन्नति गरिने जैशीले बताउनुभयो । उहाँले भन्नुभयो,‘नगरपालिकाको वडा नं १० मा ५० श्ययाको प्रादेशिक अस्पताल निर्माण भइरहेको छ । भल्कामा नगर अस्पतालको स्तरोन्नतिको काम भइरहेको छ ।’
लम्कीचुहा नगर अस्पतालले हाल २४सै घण्टा आकस्मिकलगायत प्रयोगशाला सेवा दिइरहेको छ । चुहाको प्रादेशिक अस्पताल सञ्चालन भएमा विशेषज्ञसहितको सेवा सञ्चालन गर्न सहज हुने र एकीकृत रुपमा अस्पताल सञ्चालन गरिने व्यवस्थापन प्रमुख जैशी बताउनुहुन्छ । भवन निर्माणको जिम्मा मालिकामण्टा बेतालमाडौँ कन्स्ट्रक्सन लम्कीचुहा–६ गुुलराले पाएको छ । भवन रु दुई करोड २७ लाख २१ हजारमा निर्माण हुुन लागेको हो । बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको भवनको लागत रु १४ करोड अनुमान गरिएको अस्पतालका सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्