जनता टाइम्स

५ पुष २०८१, शुक्रबार १८:२९

‘सरकारलाई असफल हुने छुट छैन’


सुदूरपश्चिम, पुस ५ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस—एमालेको सहमतिमा बनेको वर्तमान सरकारलाई असफल हुने छुट नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा पत्रकारसँग उहाँले संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि दुई ठूला दल मिलेर सरकार गठन भएकाले सोही अनुसार जनपक्षी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

‘यो सरकार संविधान संशोधन, आर्थिक विकास र सुशासनका लागि बनेको हो । संसद्का ठूला दुई दलबीचको सातबुँदे सहमति भएबमोजिम सरकार चल्नुपर्र्छ । अहिले सहमतिअनुसार काम नभएको हो कि भन्ने ढङ्गले कुरा भइरहेको छ । यस्तो हुनुहुँदैन’, नेता डा कोइरालाले भन्नुभयो ।

उहाँले पार्टी सभापति शेरबहादुर देउवासँग आफ्नो कुनै असमझदारी नरहेको पनि स्पष्ट पार्नुभयो । नेता कोइराला पार्टीका शुभेच्छुक सङ्गठनद्वारा आयोजना हुने कार्यक्रममा सहभागी हुन आज धनगढी पुग्नुभएको हो । उहाँलाई नेता कार्यकर्ताले १५ किलोग्राम फूलको मालासहित भव्य स्वागत गरेका थिए ।