जनता टाइम्स

२६ पुष २०८१, शुक्रबार १६:५३

‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’


दोधारा चाँदनी, पुस २६ । गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणका लागि सबै मिलेर अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै उहाँले समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएकाले यसविरुद्ध सामूहिक अभियान सञ्चालन गरिनुपर्ने बताउनुभएको हो ।

मन्त्री लेखकले पछिल्लो समय लागुऔषधबाट विशेष गरी किशोरकिशोरी प्रभावित भइरहेकाले विद्यायस्तरबाटै अभियान सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो । स्थानीय सरकार र निजी सङ्घसंस्थाको भूमिका यसमा थप प्रभावकारी हुने उहाँको भनाइ थियो । ‘समाजमा लागुऔषध, आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ । यसविरुद्ध अभियान सञ्चालन गर्नु आवश्यक छ । यसका लागि एन प्याब्सनले विद्यालयस्तरबाटै अभियन सुरुआत गरोस्’, गृहमन्त्री लेखकले भन्नुभयो ।

उहाँले संविधानमा नै निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था गरिएकाले यसको परिपालना र शैक्षिक गुणस्तर सुधारका लागि सबैले ध्यान दिनुपर्ने बताउनुभयो । मन्त्री लेखकले विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसद्मा छलफलकै क्रममा रहेको अब चाडै सो विधेयक पारित गरी शिक्षालाई सुलभ, सरल र सबैको पहुँच विस्तारमा सरकार केन्द्रीत हुने बताउनुभयो ।