जनता टाइम्स

२६ पुष २०८१, शुक्रबार १७:२५

एसियन हाइवे : पुल र कल्भर्ट निर्माण पहिलो प्राथमिकतामा


झापा, पुस २६ । एसियन हाइवेमा पुल र कल्भर्ट पहिलो प्राथमिकतामा राखेर निर्माणलाई तीव्रता दिइएको छ । उक्त खण्डको पूर्वी भाग काँकडभिट्टाबाट सीतापुरीसम्मको ४५ किलोमिटर क्षेत्रमा पर्ने पुल र कल्भर्ट निर्माणलाई तीव्रता दिइएको हो । हालसम्म १० दशमलव पाँच प्रतिशत भौतिक प्रगति भएको एसियाली विकास बैङ्क आयोजना दमकका प्रमुख सुनिलबाबु पन्तले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल सडकमा माटो भर्ने, कल्भर्ट र पुल निर्माण भइरहेका छन् । एसियन राजमार्ग निर्माणका लागि काँकडभिट्टा–सीतापुरीलाई पूर्वी खण्ड र सीतापुरी–मावा खोलालाई पश्चिम खण्डमा विभाजन गरेर काम भइरहेको आयोजना प्रमुख पन्तले बताउनुभयो । एक सय ४३ कल्भर्टमध्ये सडक दायाँबायाँमा ९३ वटाको काम सम्पन्न भइसकेको बताउँदै उहाँले १८ साना पुलमध्ये १७ वटाको निर्माण भइरहेको जानकारी दिनुभयो ।

बिर्तामोडको चोकमा रहेको अदुवा खोलामाथि निर्माण गरिने पुल दुई महिनापछि सुरु गरिने आयोजना प्रमुख पन्तले बताउनुभयो । अन्य पुलको जमिनमा फाउन्डसेन पाइलिङ, पाइल क्याप र पिलर क्याप लगाउने काम धमाधम भइरहेको छ । ‘ठेक्का पाएको कम्पनीको काम सन्तोषजनक छैन’, आयोजना प्रमुख पन्तले भन्नुभयो,‘मङ्सिर, पुसमा प्रतिमहिना चार प्रतिशतका दरले कामको प्रगति हुनुपर्नेमा नभएपछि तीव्रता दिन निर्देशन दिइरहेका छौँ ।’ एसियाली विकास बैङ्कको ऋण सहयोग र नेपाल सरकारसँगको साझेदारीमा रु ३४ अर्ब ९० करोड लागतमा कल्भर्ट र साना पुलको ठेक्का लगाइएको थियो ।

कनकाई, विरिङ्ग र निन्दा खोलाका पुलको ठेक्का फरक कम्पनीले लिएको छ । ती पुलमा फाउन्डेसन पाइलिङको काम भइरहेको जनाउँदै प्रमुख पन्तले सडकमा माटो भर्ने काममा समस्या भइरहेको बताउनुभयो । आवश्यकताअनुसार सहज रूपमा माटो नपाउँदा समस्या भएको पन्तको भनाइ छ । उहाँले हाल सञ्चालनमा आइरहेको बीच सडकको कल्भर्ट भने सडकसँगै निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो । पुल र कल्भर्ट निर्माणपछि सडकको बाँकी काम गर्न सहज हुने भएकाले पहिलो प्राथमिकतामा पुल र कल्भर्ट राखिएको उहाँले उल्लेख गर्नुभयो ।