जनता टाइम्स

२६ पुष २०८१, शुक्रबार १९:३६

जलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा


पाटन, पुस २६ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरणमा नेपालले विश्वलाई सन्देश दिनुपर्नेमा जोड दिनुभएको छ । वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा पार्टी कार्यालय सानेपामा आज आयोजित वन, वातावरण तथा जलवायु परिवर्तन सरोकारसम्बन्धी कार्यपत्र प्रस्तुतिकरण कार्यक्रममा बोल्दै सभापति देउवाले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधन प्रयोगलाई बढाउनुपर्ने बताउनुभयो ।

‘जलवायु परिवर्तनको असरले नेपाल पीडित छ, यसको असर न्यूनीकरणका लागि नेपालले चाहेर मात्रै हुँदैन, नेपालले विश्वलाई सन्देश दिनेगरी गर्नसक्ने विषय धेरै छन्,’ उहाँले भन्नुभयो । उहाँले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउन सके जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठूलो उपलब्धि हुने धारणा राख्नुभयो ।

‘समुन्द्री सतह बढेको छ, हिमाल नाङ्गो भइरहेको छ, त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय जलवायु परिवर्तन हो’, सभापति देउवाले भन्नुभयो । उहाँले देशमा ६० प्रतिशत जङ्गल बचाउन सकेमा मात्रै ठूलो मद्दत पुग्ने बताउनुभयो । पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्यायले नेपालले अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तनको मुद्दाको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जलवायु परिवर्तनको समस्या सृजना गर्नमा हाम्रो योगदान नगन्य भए पनि जलवायु सङ्कट समाधान गर्नमा, नेपालले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग प्रमुख कल्याण गुरुङले जलवायु परिवर्तनको विषयमा पार्टीभित्र नीति तय गरी कानुन निर्माणमा क्रियाशील रहने बताउनुभयो । कार्यक्रममा जलवायु परिवर्तनको विषयमा अनुसन्धानरत विज्ञहरुले कार्यपत्र प्रस्तुतीकरण गर्नुभएको थियो ।