जनता टाइम्स

१४ माघ २०८१, सोमबार ०९:३६

छाउगोठमा सुतेकी महिलामाथि बाघको आक्रमण


धनगढी, माघ १४ । कैलालीको मोहन्याल गाउँपालिका–७ कुइनेकी एक महिला छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणबाट घाइते हुनुभएको छ । ४० वर्षीया सरस्वती बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बताउनुभयो ।

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार बाघको आक्रमणले उहाँको टाउको र मुखमा चोटमा लागेको छ । गाउँलेले होहल्ला गरेपछि बाघ भागेको थियो । बिकलाई अहिले उपचारको लागि लम्की लगिसकिएको र हाल उहाँको अवस्था खतरामुक्त रहेको अध्यक्ष उपाध्यायले बताउनुभयो ।