जनता टाइम्स

१७ माघ २०८१, बिहीबार १२:४२

चाडपर्वले राष्ट्रिय एकताको भावनालाई मजबुत बनाउँछ : अध्यक्ष नेपाल


काठमाडौं, माघ १७ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै समुदायका चाडपर्वले सामाजिक एकतासँगै राष्ट्रिय एकताको भावनालाई थप मजबुत बनाउने बताउनुभएको छ । तामाङ समुदायको सोनाम ल्होसार पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको हो ।

अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गर्नुभयो । उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले मुलुकमा सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरण गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सबै प्रकारका विभेदको अन्त्य गरी वैज्ञानिक समाजवाद कार्यान्वयनको खाँचो औँल्याउनुभयो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाइने तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार पर्वमा सो समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरणसहित आपसमा खुसी आदानप्रदान गर्ने प्रचलन छ ।